सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम  « Khabarhub

सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम 


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको  आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र पर्दा याममा ढोरपाटन हिँडेका पर्यटकले सास्ती खेप्दै आएका छन् ।

अझै पनि बागलुङभित्रको ६१ किमीमध्ये अधिकांश ट्र्याक मात्रै खुलेको छ । त्यो पनि यसअघि नै ग्रामीण सडकको रूपमा खुलेको खण्डमा त परिवर्तन नै भएको छैन । जिल्लाभित्रको ६१ किमी सडकमध्ये बुर्तिबाङदेखि ढोरपाटन पुग्ने सडकभित्रको पनि २२ किमी खण्डको ठेक्का अलपत्र छ ।

बुर्तिबाङ फल्लेघर ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द, ओमबुद्ध संयुक्त निर्माण कम्पनीले तोकिएको समयमा ३० प्रतिशत मात्रै काम गरेर अलपत्र पारेको हो । तोकिएको समय सकेर थपिएको समयमा पनि कुनै प्रगति नभएको सालभण्डडी ढोरपाटन सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीले बताए ।

त्यस बाहेकको खण्डमा त झनै काम भएको छैन । खुलेको ट्र्याकसमेत समयमा मर्मत नहुँदा वर्षातमा खसेका पहिरो त्यतिकै छ । निसीखोला तर्फको खण्डमा सडकको कामै नहुँदा गाउँपालिकाका जनप्रतिनिधिसमेत आक्रोसित छन् ।

‘न आयोजनाले काम गर्छ, न हामीले लगानी गर्न पाउँछौँ, जनताले हामीलाई सोधेको प्रश्नको उत्तर पनि दिन सकेका छैनौँ’ गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘सोह्रवर्षदेखि काम नभएपछि जनताले पनि आयोजनाको काम छैन भन्न थालेका छन् ।’ दोहोरो पर्ने डरले पालिकाले लगानी नगरेको उनले बताए ।

विसं २०६५ मा ट्र्याक खुलाउने काम भए पनि त्यस यता अधिकांश खण्ड अलपत्र छ । फलेघर तर्फको भने २०७८ को कात्तिकमा ठेक्का लागेको थियो । २०८१ को वैशाख ४ गते पूरा गर्ने लक्ष्यमा पटक–पटक म्याद थपेर पनि ३० प्रतिशत मात्रै काम भएको हो । त्यो पनि संरक्षण नभएर सबै भत्केको छ । चिप्लो र खाल्डैखाल्डा भएकाले यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

२५ करोड ६१ लाख रुपैयाँमा ठेक्का लिएकोमा अहिलेसम्म वित्तीय प्रगति पनि ३० प्रतिशतमाथि जान नसकेको हो ।

ठेकेदारले आगामी पुस मसान्तका लागि थप गरेको समयमा पनि प्रगति शून्य भएपछि उक्त ठेक्का तोड्नुपर्ने अवस्था आएको भण्डारीले बताए ।आगामी असार मसान्तभित्र सक्ने भरपर्दो आधार नपाएमा ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानै पर्ने अवस्था रहेको उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले सडक अलपत्र पर्दा पर्यटक फर्केको र जिल्लाको राजस्व सङ्कलनमासमेत असर परेको बताए ।

सडक अप्ठ्यारो भएकै कारण ढोरपाटनका गर्भवती, सुत्केरीहरुले समयमा उपचार पाउन नसकेको, नेपाली सेना र आरक्ष कार्यालयको रासन ढुवानीमासमेत असर परेको छ । यो सडक अलपत्र परेपछि आयोजनाले समयमा काम गर्न ताकेता गर्दै अहिलेसम्म ठेकेदार कम्पनीलाई १० पटक पत्राचार गरेको छ । दुई पटक बैठक बसेर बोलाइएको थियो ।

आयोजनाको पत्राचारको समेत बेवास्ता गरेपछि ठेकेदार कम्पनीको तीन करोड ५६ लाख रुपैयाँ बैंक जमानत पनि रोक्का गरिएको छ । लुम्बिनीमा आएका पर्यटकलाई ढोरपापटनसम्म लैजान सहज हुने उद्देश्यले यो सडक निर्माण थालिएको थियो ।

कूल एक सय ९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ । सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ४ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित