खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत « Khabarhub

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो । घरायसी काममा दौडधुप बढी भएपछि बिरामी परेकी उनलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन । स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए ।

त्यसले बिसेक नभएपछि थप उपचारका लागि उनी खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा गइन्। त्यहाँ गएपछि भने उनलाई केही दिनमै सञ्चो भयो । खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए । 

‘उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो’, १५ वर्ष भारतमा काम गरेर फर्किएका देवकुमार थापाले भने, ‘सबै उपचार गर्न सदरमुकाम चैनपुर, धनगढी, काठमाडौँ, भारतको पलिया, नयाँ दिल्लीतिर जान्छन् । उहाँ खप्तड जानुभयो । हामी त अचम्ममा पर्‍यौँ !’

तारालाई खप्तडमा उपचार गरेर सञ्चो भएपछि भने देवकुमारले पनि आफ्नी श्रीमतीलाई उपचार गर्न त्यही लगेको बताए।

‘दिल्लीको गर्मी र बझाङको चिसोले रुघा र ज्वरो बढेपछि खप्तडमा जाने निधो गर्‍यौँ  । खप्तडमा नेपाली सेनाको ब्यारेक पुग्नु परेन । खापरदहमा हालै लागेको जगन्नाथ मेला ‘ओरालु’ मा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्‍यौँ र सन्चो भयो’, थापाले भने ।

उनीजस्तै पछिल्लो समय धेरै बिरामी खप्तडमा रहेको नेपाली सेनाको उपचार केन्द्रमा आकर्षित भइरहेका छन् ।  बाजुराको खप्तडछेडेदह गाउँपालिका–१ का श्याम रावल त्यसको उदाहरण हुन्। लामो समय भारत बसेका उनी ओरालु मेला भर्न जाँदा लेक लागेर रिँगटा लाग्न थालेपछि आफन्तको सुझावपछि नेपाली सेनाको स्वास्थ्य शिविरमा गएर सञ्चो भएको बताउँछन् ।

‘मलाई त खै के पो हुने हो जस्तो लागेको थियो । उपचारका लागि नजिकै अर्को विकल्प पनि थिएन । त्यहाँ गरिएको सानो उपचारले खप्तड बसाइ सहज भयो’, रावलले भने। 

खप्तड जाँदा हुने यस्ता समस्याका बेला खप्तड ब्यारेकमा रहेको उपचार सेवा धेरैका लागि प्रेरणादायी बनेको छ । पर्यटक, गोठाला, तीर्थालुलाई पछिल्लो समय यो सेवा ढुक्कले खप्तड जाने आधार बनेको छ । गोठालो गर्न गएका प्रेम खड्काले हाल नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि तथा उपचार सेवाले यहाँ आउनेलाई निकै सहज भएको बताए। 

‘गाउँघरतिरका स्वास्थ्य चौकीमा प्रायः सिटामोल मात्रै पाइन्छ, न गतिलो औषधि, न उपचार नै । त्यसैले हामी त सानो समस्या भए पनि खप्तडमै आउँछौँ । यहाँ औषधिसँगै परामर्श राम्रो छ’, उनले भने। 

समरजित गुल्म खप्तडका गुल्मपति सेनानी रामकुमार थापाले स्वास्थ्य समस्या लिएर खप्तडमा दिनहुँ बिरामी आउने गरेको बताए। उनले मेलाका समयमा शिविर तथा अन्य समयमा ब्यारेकको मेडिकलबाटै उपचार गर्ने गरिएको बताए। 

उनका अनुसार ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ, दशहरालगायत मेलामा पनि हजारौँ तीर्थालु भक्तजनले नेपाली सेनाले आयोजना गर्ने गरेको शिविरबाट सेवा लिने गर्छन् ।

‘खप्तडमा लाग्ने मेलामा हरेक वर्ष हामीले स्वास्थ्यशिविर सञ्चालन गर्दै आएका छौँ । अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याले धेरैलाई समस्या हुन्छ । त्यसैले उहाँहरू लक्षित गरी शिविर आयोजना गर्ने गरिएको हो । त्यसबाहेक अन्य समयमा पनि दैनिकजसो २०र३० जनाले यहाँ उपचारका लागि आउने गरेका छन्’, गुल्मपति सेनानी थापाले बताए।  

यस कार्यले जुनसुकै मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आइपर्ने भवितव्यमा निकै सहज भएको स्थानीयले बताएका छन् । यसका साथै मध्यवर्ती क्षेत्र आसपासमा हुने विभिन्न प्राकृतिक तथा अन्य  दुर्घटनामा पनि उद्धार तथा खोज गर्न नेपाली सेनाले सक्रियता देखाउँदै आएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित