रुपातालको किनारमा पक्की सडक निर्माण « Khabarhub

रुपातालको किनारमा पक्की सडक निर्माण


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ ।

रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो ।

परियोजनाको २३ करोड १० लाख रुपैयाँ लागतमा काम भइरहेको छ । सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा गर्न सहजता हुनुका साथै तालको महत्त्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पोखराका फेवा र बेगनास तालपछि तेस्रो ठूलो तालका रूपमा रहेको रुपातालमा पहुँच सडकको अभावमा पर्यटकीय गतिविधि कम भएपछि सुविधा सम्पन्न पक्की सडक निर्माण थालिएको रुपाताल पुनः स्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए ।

निर्माण सम्पन्न भएपछि तालको महत्त्व अझ बढ्नुका साथै यहाँको पर्यटन प्रवर्द्धन हुने र स्थानीयको आर्थिक स्तर वृद्धि हुने उनको भनाइ छ । उनले पक्की सडकले तालको मुहारका साथै स्थानीयको दैनिकी फेर्ने बताउँदै खुसी व्यक्त गरे ।

‘विसं २०५९ मा हामी आफैँले ट्र्याक खोलेको बाटो बनाउन सुरु गरेका हौँ । अहिले पूरै तालको एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी पक्की सडक बन्दा असाध्यै खुसी भएका छौँ । पर्यटकीय गतिविधिसँगै स्थानीयलाई समेत बाटोले फाइदा हुनेछ’, अध्यक्ष अधिकारीले भने ।

 अधिकारीका अनुसार सडक निर्माणले रुपातालमा माछा खरिद तथा बिक्रीका लागि सजिलो हुनुका साथै रुपा गाउँपालिकाका भङ्गराम, जमनकुना, तालबेंसीलगायत क्षेत्रका स्थानीय सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बेगनासताल हुँदै सुन्दरीडाँडा, तालबेंसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यस सडक विकल्पका रूपमा प्रयोगमा आइसकेको अधिकारीले बताए ।

 रुपाताल एकीकृत संरक्षण परियोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सडक निर्माणको हालसम्म ८० प्रतिशत काम सकिएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रमा पूरा काम हुनेछ ।

 सडक निर्माणका लागि विसं २०७८ असार २३ गते डुकुचु कन्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरिएको थियो । सडक नालाबाहेक साढे पाँच मिटर फराकिलो हुनेछ । सम्झौता मितिले ३० महिनाभित्रमा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि बजेट अभावमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

‘गत चैतभित्रमा कालोपत्रे गर्ने तयारी भएको थियो । बजेट अभावमा सडक समयमै सम्पन्न गर्न केही ढिलाइ भयो । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएका छौँ’, इन्जिनियर गुरुङले भने ।

रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साबिकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ । ताल पर्यटकीय गन्तव्यसँगै आसपासका सर्वसाधारणको समृद्धिको महत्त्वपूर्ण आधार बन्ने स्थानीयको भनाइ छ ।

परियोजनाका इन्जिनियर सुनिता गैह्रेले रुपाताललाई पुरानै स्वरूपमा फर्काउन करिब रु चार अर्ब ५० करोडमा लागतमा विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिइन् । उनका अनुसार पहुँच मार्गसहित जलाधार क्षेत्रमा तीन वटा सिल्ट्रेसन ड्याम निर्माण गरिएको छ ।

लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने इन्जिनियर गैह्रेले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित