डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो ! « Khabarhub

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेका थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन्। 

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन् । 

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढ्छन् । भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् । 

पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताइन् ।

‘एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो । दिक्तेल बजारमा सालको पात प्रतिमुठा ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जंगल सखाप पार्‍यो’, उनले भने, ‘सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ । डढेलोले जंगल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।’

त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् । 

गंगालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ । छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ । 

सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो । उपचारमा अस्पतालले सात लाख ५० हजार लियो ।

‘जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ । अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,’ उनले भनिन् ‘काठमाडौँको तीन÷चारवटा अस्पताल डुलाउँदा १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन । सबै ऋण काढेर उपचार गर्‍यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ ।’

छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाया लग्यो । ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए। घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।

नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन् ।

 ‘स्काफोल्डिङ’को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते भएका हुन्। काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ। तीन वर्षसम्म अस्पताल बसेर उपचार गराएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ ।

‘कमाउन विदेश गएका श्रीमान् बिरामी छन् । कलकलाउँदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबु पनि ठीक हुँदैछ’, गहभरी आँसु पार्दै उनले निन्, ‘बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न  धौ-धौ छ । सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो ।’

छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ । कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

–राससबाट

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित