खडेरीले गर्दा सिरहामा ५० प्रतिशत मात्रै रोपाइ « Khabarhub

खडेरीले गर्दा सिरहामा ५० प्रतिशत मात्रै रोपाइ


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरू चिन्तित बनेका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरू पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरू चिन्तित बनेका हुन्। 

लामो समयको खडेरीले धेरै किसानहरूले धान रोप्न पाएका छैनन्। रोपेका धान पनि सुक्न थालेका छन भने रोप्न बाँकी रहेका किसानको बिउ ब्याडमै सुक्न थालेको छ। धानमात्र हैन, पानी अभावका कारण फल्न लागेका मकै, मडुवा (कोदो) लगायतका बाली पनि सुक्न थालेको किसानहरू बताउँछन्।

आकाशे पानी नपर्दा जिल्लामा करिव ५० प्रतिशत खेतमा मात्र धान रोपाइ भएको छ । धान रोप्ने समय बितिसक्दा पनि सिरहाको नरहा गाउँ पालिका ५ का किसान राजदेव यादवको दुई बिगा खेत बाँझै छ। करिव १२ कठ्ठा जमिनमा स्यालो ट्युवेलको सहयोगमा जसोतसो रोपाइँ गरेपनि रोपाइँ हुने गरी पानी नपर्दा यादवको बाँकी खेत बाँझै रहेका छन् । 

पानी अभावका कारण विष्णुपुर गाउँ पालिका ५ का त्रिभुवन महतोले पनि धान रोप्न राखेको एक बिगा जमिन अझै बाँझै छ। साउनको मध्ये सम्ममा पनि सुख्खा जारी रहेकाले उनको खेतमा धान रोपाइँ हुन नसकेको महतोले बताए। 

महताको जमिनमा कमलाको नहर लाग्ने भए पनि लामो समय देखिको खडेरीले नहरमा पानी नआउँदा रोपाइ हुन सकेको छैन। उनले ‘रोपइँको समय घर्किन लाग्दा पनि उनको खेत बाँझै छ। बिउ ब्याडमै सुक्न थालिसक्यो। पानी पर्ने छाट अझै छैन’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिरहा नगरपालिका १० पदमपुरका नुनु पासवानले गाउँकै गिरहतको करिव एक बिगा जमिन अधियाँ गरेका छन्। उनले स्यालो ट्युवेलबाट पानी पटाएर जसोतसो रोपाइँ गरे पनि खडेरीले रोप सुक्न थालेको छ। पासवानले भने, ‘जसो तसो धान त रोपियो, तर खडेरीले रोपेको रोप सुक्न लागिसक्यो, पानी पर्ने कुनै सङ्केत नै छैन।’

 धान रोप्ने समय सकिनै लागेपनि सिरहामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। लामो समयदेखि धान रोपाइँका लागि आवश्यक पानी नपरेका कारण धान रोप्ने समय घर्किसक्दा पनि आधा जमिन बाँझै रहेको हो।  

आकाशे पानीको भरमा खेती हुँदै आएको सिरहामा विशेषगरी धान रोप्ने मुख्य समयमा पानी नपरेको कारण  रोपाइँमा कमी आएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताए। उनले भने, ‘विशेषगरी सिरहामा आकाशे पानीकै भरमा धान खेती हुँदै आएको छ। यो वर्ष लामो समयदेखि धान रोप्न मिल्नेगरी एकपटकमात्र पानी परेकाले रोपाइँमा कमी आएको हो।’ गत वर्ष यही समयमा जिल्लाको कुल ५९ हजार धान खेतियोग्य जमिन मध्ये ९५ प्रतिशतमा रोपाइ सम्पन्न भइसकेको ज्ञान केन्द्रका प्रमुख महासेठले जानकारी दिए। 

पानी साना कुलो तथा भूमिगत जलस्रोतको पहुँच भएका पालिकाहरूमा सन्तोषजनक रोपाइ भएको भए पनि राजमार्ग आसापासका गाउँ पालिकामा कम रोपाइ भएको ज्ञान केन्द्रका प्रमुख बताउँछन्‌। उनका अनुसार सिरहामा सबैभन्दा कम कल्याणपुर नगरपालिकामा १० प्रतिशतमात्र रोपाइ भएको छ भने सबैभन्दा बढी बडियारपट्टी गाउँ पालिकामा ९० प्रतिशत रोपाइ भएको ज्ञान केन्द्रले जनाएको छ।

 स्थानीय जातको धानहरु कम फल्ने भएकाले उन्नत जातका धानहरु किसानको रजाइँमा पर्ने ज्ञान केन्द्रको भनाई रहेको छ। जिल्लामा विशेषगरी बासमती रातो, कालो, सोना मन्सुली, हर्दिनाथ, राम धान, सुख्खा २ र ३, कतर्नी लगायत जातको धानखेती हुने गरेको छ।

कमला नदीको पूर्वी नहरले सानो क्षेत्रमा सिँचाइको सुविधा पुर्याएको भएपनि वर्षाका नभएका कारण नहरमा पनि थोरै पानी आएकाले किसानले धान रोप्न पाएका छैनन्।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित