पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात « Khabarhub

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात गरिएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखानुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको २३ हजार ९८८ मेट्रिक टन ताजा तरकारी आयात गरिएको छ ।

सोही अवधिमा नेपालबाट नौ करोड ६५ लाख ७२ हजार ८०० रुपैयाँबराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारततर्फ निर्यात गरिएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए ।

पूर्वी नाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार २०० रुपैयाँबराबरको घाटा भएको छ ।

नेपालबाट निर्यात गरिने ताजा तरकारीमा बन्दाकोबी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार रुपैयाँबराबरको पाँच हजार ९६७ मेट्रिक टन बन्दाकोबी भारततर्फ निर्यात गरिएको ठाकुरले जानकारी दिए ।

यस्तै, तरकारीमा गोलभेँडा पाँच लाख १२ हजार रुपैयाँबराबरको २६ मेट्रिक टन र पाँच लाख ८९ हजार रुपैयाँबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात गरिएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोबी, मुला र गोलभेँडा भारततर्फ निर्यात गर्ने गरिएको छ ।

१९ करोड बढीको गोलभेँडा आयात
चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा १९ करोड ३७ लाख ४० हजार रुपैयाँबराबरको नौ हजार ६८७ मेट्रिक टन आयात गरिएको छ ।

सोही अवधिमा भारतबाट दुई करोड सात लाख ८० हजार रुपैयाँबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र तीन करोड ७१ लाख ८० हजार रुपैयाँबराबरको एक हजार ८५९ मेट्रिक टन गाँजर आयात गरिएको छ । तरकारीमध्ये मुला र बन्दाकोबीचाहिँ भारतबाट आयात गरिएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायत कोसी प्रदेशका जिल्लामा बन्दाकोबीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

कोदो र आलुमा पनि भारतकै भर
नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार रुपैयाँबराबरको चार हजार ९२० मेट्रिक टन कोदो भारतबाट आयात गरिएको छ ।

सोही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख चार हजार रुपैयाँबराबरको ४१ हजार ६२१ मेट्रिक टन आलु आयात गरिएको कार्यालयले जनाएको छ ।

ती महिनामा एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार रुपैयाँबराबरको ३६ हजार ७३० मेट्रिक टन फलफूल भारतबाट आयात गरिएको छ ।

उक्त अवधिमा दुई करोड ५९ लाख ९२ हजार रुपैयाँबराबरको ३६१ मेट्रिक टन चना, नौ करोड २२ लाख चार हजार रुपैयाँबराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, १२ करोड ८६ लाख रुपैयाँबराबरको एक हजार २८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार रुपैयाँबराबरको ६१६ मेट्रिक टन उखु भारतबाट आयात गरिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल पाँच अर्ब १० करोड ६० लाख ३१ हजार रुपैयाँबराबरको आयात गरिएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।

सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोसहित कुल पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार रुपैयाँबराबरको नेपाली उत्पादन भारत, बंगलादेशलगायत मुलुकमा निर्यात गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित