अण्डा उत्पादक किसानले लागत मूल्य पाउने « Khabarhub

अण्डा उत्पादक किसानले लागत मूल्य पाउने


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए । 

 पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । 

किसानले हाल १५ पाएका छन् । उनको भनाइमा अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो रु ७० पर्दछ । 

कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो रु ६५ सम्म पर्ने बताए । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा रु एक सय ६५ खर्च हुने उनको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत  १४ रुपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ । उनले भने ‘बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य रु १७ पर्न आउँछ ।’ अबको समयमा केही हदसम्म अण्डाको मूल्य बढेमा किसानले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उनको भनाइ छ । 

सङ्घका अध्यक्ष विनोद पोखरेलले ३० प्रतिशत हाराहारी किसान विस्थापित भइसकेको बताए। उनले भने ‘लागत मूल्य पाउन नसके पोल्ट्री व्यवसाय धराशायी हुने अवस्था छ ।’ झण्डै एक वर्ष यता स्वयं व्यवसायीहरुको अग्रसरतामा गरिएको बजारीकरण पछि अण्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए। धेरै किसान ऋण तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले केही ऋण थपेर उनीहरूलाई पुनः पेसामा फर्किन राज्यले सहयोग गर्नुपर्ने बताए।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले कोभिडको समयपछि एकाएक अण्डाको मूल्य घटेसँगै किसान धराशायी हुँदै गएको बताए । पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी भएको भन्दै उनले यसको ४० प्रतिशत हाराहारी लेयर्स कुखुरा पालनमा खर्च भएको बताए। उनले गुनासो गरे ‘कुखुरा बेचेर बाँकीलाई दाना खुवाएर बचाउनुपर्ने अवस्थामा हामी छौँ ।’

नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले  १० वर्ष पहिले एउटा क्रेट अण्डाको मूल्य रु तीन सयमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताए । उनले भने ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । 

अहिले दाना प्रतिकिलो रु ७० पर्दा अण्डाको मूल्य उस्तैउस्तै छ ।’ दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले यकिन तथ्यांक नभएपनि ३५ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ । दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्याधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुने चरणमा पुगेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित