नाम मात्रैको लेखनाथ रङ्गशाला « Khabarhub

नाम मात्रैको लेखनाथ रङ्गशाला


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- सिमसिम पानी परिरहेको थियो । लेखनाथ रङ्गशालाको छेउपट्टि मङ्गलबार बिहान बालबालिका कराँते सिकिरहेका थिए । रङ्गशालाको रनिङ ट्रयाक हिलाम्मे भएकाले अभ्यासपूर्व उनीहरु दौडन भने पाएनन् । कभर्ड हलमा प्रशिक्षण लिनु त टाढाको कुरा भयो ।

प्रशिक्षक हेमन्त विकले छ वर्षदेखि खुला आकाशमुनि कराँते सिकाउँदै आएको सुनाए । “घाँसे मैदानमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता छ, कभर्ड हल छैन, बर्खामा ट्रयाक हिलाम्मे हुँदा खेलाडी दौडन पनि पाउँदैनन्”, विकले दुःखेसो गरे, “रङ्गशाला मात्र भनेर के गर्ने खेल पूर्वाधार छैन ।”

हिउँदमा केही चहलपहल हुने पोखरा–२९ स्थित सो रङ्गशाला बर्खायाममा भने सुनसान देखिन्छ । प्रातकालीन हिँडडुल र व्यायामका लागि पुगेका मानिस मात्र फाटफुट भेटिन्छन् । खेलकुद गतिविधि त शून्य प्रायः हुन्छ । वषौँसम्म रङ्गशालाको मुहार फेरिन सकेको छैन । स्थानीय आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले पोखरापछिको ठूलो रङ्गशाला भएर पनि पूर्वाधारमा पछाडि परेको बताए ।

“फुटबल मैदान पनि स्तरीय छैन, रनिङ ट्रयाक मापदण्डमा छैन”, उनले भने, “बनेका संरचना पनि लथालिङ्ग छन्, ठूलो लगानी नगरेसम्म रङ्गशालाले वास्तविक स्वरुप पाउने अवस्था छैन् ।” डेढदुई सय दर्शक अट्ने प्यारापिटले पनि संरक्षण पाउन सकेको छैन । क्लबले २४औँ संस्करणसम्मको ‘आदर्श कप फुटबल’ सोही मैदानमा आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।

“अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उनले भने, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।” पोखरा महानगरको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले बजेट अभावले रङ्गशाला बन्न नसकेको बताए । छ वर्षअघि निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेटकै कारण अलपत्र परेको उनको भनाइ छ । कभर्ड हलको निर्माण दुई वर्षदेखि ठप्प छ ।

अहिलेसम्म उक्त कभर्ड हलमा रु एक करोड दस लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ ।

“सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भने, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो, तर बजेटकै कारण योजना अन्योलमा परेको छ ।”

कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा छ । सुरुमा रु तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिएका थिए ।

प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् तर बजेटकै अभावमा महत्त्वपूर्ण खेल पूर्वाधार वर्षौंदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, त्यो अनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भने, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौँ, सरकारसँग हारगुहार गरेर भए पनि कभर्ड हल बनाउँछौँ ।”

पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले अलपत्र कभर्ड हलको कामलाई गति दिन चालु आवमा वडाबाट रु एक करोड ३५ लाख बजेट विनियोजन गरिएको बताए । “कभर्ड हललाई जसरी पनि पूर्णता दिन्छौँ, वडाले पनि पहल लिन्छ, तर रङ्गशालाको सिङ्गो पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिन्छ”, उनले भए ।

उनले खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको धारणा राखे । वडाध्यक्ष गुरुङले राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्ने उल्लेख गरे । अबदेखि रङ्गशालाको रेखदेख र संरक्षण वडाले गर्ने उनको भनाइ छ ।

लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उनले भने, “तीनै तहका सरकारका खेल हेर्ने निकायले यसमा पहल लिनुपर्छ ।”

रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा–२९ आदर्शचोकका पूर्ण खत्रीले बताए । “स्थानीयवासीले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छोड्यौँ”, उनले भने, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।” विसं २०७३ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले ‘लेखनाथ रङ्गशाला’ घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ८ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित