फेरिँदै तस्करीको शैली, चामलको बोरामा २२ क्विन्टल चिनी « Khabarhub

फेरिँदै तस्करीको शैली, चामलको बोरामा २२ क्विन्टल चिनी


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भन्सारमा चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मी आक्रामक बन्दा तस्करहरुको तस्करी गर्ने शैलीमै परिवर्तन आएको पाइएको छ । वर्षौंदेखि सामान्य रुपमा हुँदै आएको तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाव आएको छ ।

तस्करी न्यूनीकरणमा लागेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायले तस्करीलाई विफल बनाउँदै आएका थिए । भन्सारमा एक वस्तुको प्रज्ञापन भरी अर्को वस्तुको भन्सार जाँच पास गराउन खोज्ने, कीर्ते कागजमा ट्रक नै पास गर्न खोज्नेजस्ता घटनाहरु बाहिरिए पनि तस्करहरुले तस्करीका लागि अझ नौलो शैली अपनाइरहेका छन् । पछिल्लो समय कतिपयले तस्करीको पेशा नै छाडेका छन् भने अरु केही यस क्षेत्रबाट पलायन भइसकेका सुरक्षा निकायको रिर्पोट छ ।

गत शनिबार रुपन्देहीको सिद्धार्थनगर–८ बाट सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरको प्रहरी टोलीले चामलको बोरामा चिनी बरामद गरेको छ । केही समय पहिलो मलको बोरामा चिनी ओसारपसार भएको घटना बाहिरिएपनि शनिबारको घटनामा नेपाली चामलकै बोरामा अवैध रुपमा चिनी भित्रिएको पाइएको हो ।

यस घटनासँगै चामलको बोराभित्र चिनी राखी सिलबन्दी गरेर तस्करी हुने गरेको खुलेको छ । सावा मन्सुली, स्टीम राइसलगायतका ३ दर्जन बढी बोरामा चिनी प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलका उपरीक्षक दिपक थापासहितको टोलीले बरामद गरेको हो ।

नेपाली चामल उत्पादकको बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रुपमा भित्रिएको २२ क्विन्टल चिनी सिद्धार्थनगर –८, मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए । २५ किलो र ५० किलोको विभिन्न चामलको बोरामा चिनी लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले शनिबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको एसपी थापाले जानकारी दिए ।

केही महिनाअघि यस्तै प्रकृतिका घटनामा मर्चवारलगायतका क्षेत्रबाट मलको बोरामा पनि चिनी फेला परेको थियो । दैनिक उपभोग्य वस्तु धान, चामल अन्न र मलहरु ल्याउँदा सीमामा खटिएको टोलीले मानवीयताको नाताले केही खुकुलो बनाएको छ । तस्करहरुले सोही मौकाको फाइदा उठाउँदै अन्न र मलको बोरामा चिनी भरेर ल्याउने गरेको पाइएको एक प्रहरी अधिकृतले बताए ।

एक वस्तुको बोराभित्र फरक वस्तु राखेर प्याकिङ गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त बोरामा लेबलिङ गर्नुपर्छ, तर बरामद चामलको बोरामा कुनै प्रकारको लेबलिङ भने फेला परेको छैन । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार पसल सञ्चालकलाई जरिवाना गर्ने व्यवस्थासमेत रहेको छ ।

भारतले चिनी निर्यातमा रोक लगाएकाले पनि दैनिक उपभोग्य वस्तुको रूपमा अवैध चिनी रुपन्देही हुँदै भित्रिने र बाहिरी जिल्लामा जाने गरेको छ । सुरक्षाकर्मीको आँखा छलेर चामलको नाममा ती चिनी नेपाल भित्रिएको हुनसक्ने जानकारहरु बताउँछन् । हुन त तस्करी रोकिएको छैन भन्ने कुरा दैनिक बरामद हुने अवैध चोरी पैठारीको सामानबाट पनि पुष्टि हुन्छ । तस्करी न्यून पार्ने अभियानमा लागेको सुरक्षा निकायमै रहेका केही मानिसहरुको संलग्नतामा विभिन्न नाकाबाट अझै पनि तस्करी भइरहेको बताइन्छ । विभिन्न चौकी र चेकपोस्ट पार गरी बजारमा आएपछि अवैध सामान बरामद हुनु भनेको सुरक्षाकर्मीकै मिलेमतो छ भन्ने स्पष्ट रहेको सरोकारवालाहरु बताउँछन् ।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मा सशस्त्र प्रहरीको हो भने नेपाल प्रहरीको ठूलो टिम पनि अवैध वस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ ।

सुरक्षा घेरा हुँदाहुँदै पनि तस्करीका सामान निर्वाध रुपमा भित्रिनुले सुरक्षा निकायमाथि नै प्रश्न चिह्न खडा गरेको छ । सीमा क्षेत्रनजिकै रहेका गल्लाभण्डारहरुले पनि धान, गहुँ र चामल अवैध रुपमा भित्र्याई वैध बनाउने गरेका छन् । पारीबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा भिसीटिएस लगायतका प्रक्रिया अपनाएर पठाउने गरेका छन् ।

चौकीको अगाडिबाट नै तस्करीका सामानहरु निर्धक्क साथ जाने गरेको छ । ‘कैफियत नभेटिएपछि सुरक्षा निकायले पनि रोक्न मिल्दैन’ एक प्रहरी अधिकृतले भने । ‘भित्रिएको वा ओसारपसार भइरहेको वस्तु रोक्नका लागि हामीलाई पनि केही कमी कमजोरी भएको प्रमाण चाहिन्छ, चोरी पैठारी नगर्ने व्यवसायीहरु पनि हुन्छन ती व्यवसायीहरु पनि अनाहकमा पर्न भएन, यावत चुनौतीहरु हामी माझ छन् ।’ प्रहरी अधिकृतले भने ।

सीमित जनशक्ति र स्रोत साधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तर्राष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भन्सार कार्यालयलाई सहयोग गर्नका लागि सशस्त्र प्रहरी परिचालित छ ।

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालका अनुसार सीमा सुरक्षालाई थप मजबुत बनाउन तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलन कार्यलाई थप प्रभावकारी बनाउन दक्षिणी सीमामा रहेका २ सय ५१ मध्ये ४५ बोर्डर आउट पोष्ट (बीओपी) लाई स्तरोन्नति गरी डीएसपीको कमाण्डमा प्रस्तावित सीमा सुरक्षा गुल्म पनि बनेको छ ।

सशस्त्र प्रहरीले गर्ने काममा बाधा पु¥याएको भन्दै २५ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । पहिले खासै मानिसहरुलाइ नियन्त्रणमा नलिएको सुरक्षा निकायले यो पटक भने सक्रियताका साथ संलग्नलाई पनि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएकोले पनि तस्करहरु हच्किएका छन् । तस्करीमा संलग्न व्यक्तिहरु ठूलो मात्रामा कानुनी कारबाहीको दायरामा आएको, कयौँले पेशा नै छाडेको र कयौँ व्यक्तिहरु पलायनसमेत भएका छन् ।

भैरहवा भन्सार कार्यालयले भने साना व्यवसायीहरु भन्सार पक्रियामा जान झनझटिलो मान्ने गरेको कारण संगठित रुपमा तस्करी हुँदै आएको जनाएको छ । झन्झटिलो आयात प्रक्रियाले वैध रुपमा नियमित आइरहने सामानहरुमा पनि तस्करीको माध्यमबाट आउँदै गर्दा तस्करहरुले प्रश्रय पाइरहेको भन्सार स्रोतको दाबी छ । भैरहवा भन्सार कार्यालय हुँदै नियमित रुपमा आइरहने सामानहरु पनि वैकल्पिक बाटो हुँदै तस्करीको माध्यमबाट नेपाल आउने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : ५१ बजे

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्