म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति « Khabarhub

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ ।

आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामुदायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गजुरे वनको आगलागी  बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन् । आगलागी हल्लेगौडा, पोलधारा, सल्देनालगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए ।

“अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, उनले भने । आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताए ।

“मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौँ, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन”, उनले भने । घरेलु सामग्रीको भरमामात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए । “सुक्खा र भिर भएकाले पनि सहजै निभाउन सकिएको छैन । भिरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ”, उनले भने ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ । आइतबार दिउँसो सामान्य वर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो ।

यसैबीच यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको सो कार्यालयले जनाएको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको जनाउँदै उनले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिए । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए ।

आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ । घरबाट बाहिर निस्किँदा धुवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन् ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउँछन् । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिकब्रोन्काइटि जस्ता समस्या आएका उनको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित