टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु « Khabarhub

टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ । 

मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिँडालु छिल्ने, पिँडालु मसिनो बनाउने, मास पिस्ने, पिँडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । यसरी उत्पादन भएको मस्यौरा र गुन्द्रुक नेपालमै खपत हुने र विदेशमा समेत पठाउन सकिने उनीहरू बताउँछन् । मस्यौरा तयार गर्ने मेसिनमा रु १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । 

सत्र जना महिलाले रु एक-एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिँडालु र मासले मूल्य पाउने भएको छ । मुलाको मूल्य बजारमा व्यापारीबाट किसानले १०, काउली १० र पिडालुको मूल्य ३० र कुपिण्डोको मूल्य ३० मा किसानले बिक्री गर्ने गरेका थिए भने अहिले मुला १५, काउली १५, पिँडालु ४० र कुपिण्डोको ४० पाउन थालेका छन् ।

विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए । ‘मूल्य त खासै पाइएको छैन तर विगतमा बजार नपाएर तरकारी फाल्नुपर्ने अवस्था थियो”, उनले भने, ‘मूल्य कम पाए पनि बजार नपाउने चिन्ता टरेको छ ।’

‘सत्र जनाले एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हौँ’, मालिका महिला उद्यमी कम्पनीका कोषाध्यक्ष सिर्जना पण्डितले भनिन्, ‘हातले घरेलु प्रविधिबाट कात्तिकदेखि मस्यौरा बनाउन थालेका थियौँ, बजारको मागबारे बुझेपछि थप लगानी गरेर मेसिनबाट उत्पादन गर्न थालेका छौँ ।’ उत्पादनका लागि बजारको समस्या नभएको उनको भनाइ छ ।

‘बिक्रीका लागि समस्या छैन, काठमाडौँबाट हाम्रो उत्पादन लिन फोन आइरहेका छन्’, उनले भनिन्, ‘हामीले उद्योग सञ्चालन गरेपछि मुला, कुपिण्डो र पिँडालु यही खपत हुने भएको छ ।’ ‘यस क्षेत्रमा उत्पादन भएको कुपिण्डो र पिँडालु सस्तो मूल्यमा भारतीय व्यापारीले घर-घरबाट लिने गरेका थिए, अब हामीलाई दिने भएका छन्’, उनले भनिन् । महिलाहरूले गुन्द्रुक तयार गर्न आवश्यक साग हाटबजारमा गएर खरिद गर्ने गरेका छन् भने पिँडालु र कुपिण्डो खोज्न गाउँ-गाउँ जाने गरेका छन् । सबैको समान सहभागिताका आधारमा आफैँले काम गरिरहेका उनले बताइन्।

मालिका महिला उद्यमी कम्पनीका अध्यक्ष कल्पना जैसीले महिलालाई रोजगारसँग जोड्न उद्योग खोल्ने सल्लाह गरेर उद्योग स्थापना भएको बताइन् । ‘कच्चा पदार्थ स्थानीयस्तरमै पाइने, राम्रो व्यवस्थापन गरेमा स्वदेश तथा विदेशमा राम्रो बजार भएकाले हामी उत्पादनमा लागेका हौँ’, उनले भिनन्, ‘महिलाहरू पनि आयआर्जनका कार्यमा लाग्नुपर्यो भनी हामी काममा जुटेका छौँ ।’

महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने बताएको छ । ‘हामीले उद्योगमा करोडौँ लगानी गर्ने, एकै दिनमा धेरै उत्पादन गर्ने, अझै ठूला मेसिन थप्ने योजना छ’, उनले भनिन्, ‘दैनिक सयौँ जना महिलालाई रोजगार दिने वातावरण बनाउँछौँ ।’

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित