समयमै उपचार र औषधि नपाएको क्यान्सर पीडितको गुनासो « Khabarhub

समयमै उपचार र औषधि नपाएको क्यान्सर पीडितको गुनासो


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।

उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।

मोरङबाट उपचारका लागि आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने हो ।’

यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गरे । उनले भने, ‘अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ ।’ स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उनको गुनासो थियो ।

मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरे ।

गुल्मीबाट बिरामी लिएर आएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उनले मन्त्रीका सामु आक्रोश पोखे । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै भने, ‘कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कने फर्कने हो ।’

बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने चेतावनी दिए । उनले भने, ‘योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।’

अस्पताल प्रशासनलाई निर्देशन दिँदै उनले भने, ‘अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए, के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।’ सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उनको भनाइ थियो ।

हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिए ।

उनले अहिले सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने बताए ।

 

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  १० : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित