अब जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने « Khabarhub

अब जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने


३० जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने भएका छन् ।

माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिए।

काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको संयोजक आचार्यले बताए ।

‘स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन’, उनले भने । यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्रै सञ्चालन हुँदै आएका थिए ।

यसअघि माइक्रोबस तथा जिप बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका थिए । अब भने सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उनले यात्रुलाई आग्रह समेत गरे ।

हाल  काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, वेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन् ।

संयोजक आचार्यले नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुद्देश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताए। ‘नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ’ संयोजक आचार्यले भने ।

उनले नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दै गर्दा यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयसम्म ‘पिक एण्ड ड्रप’ को व्यवस्था गर्नसमेत महानगरपालिकासँग आग्रह गरे ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता छ । 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ३ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित