फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम « Khabarhub

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ। एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो।

मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन एकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए।

मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागतीसहितका सुन्तलाजातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्सजस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बाली छन्। कार्यक्रम कोशी प्रदेशमा सात जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले बताए।

कोशी प्रदेशमा दुई हजार दुई सय हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ। आयोजना कार्यान्वयनका लागि कृषकले प्रत्येक ब्लकमा एक हेक्टर क्षेत्रफल काष्ठफल तथा फलफूल लगाउनुपर्छ। यसमा एक जना किसानले न्यूनतम चार रोपनी क्षेत्रफलमा काष्ठफल तथा फलफूल लगाउनुपर्ने आयोजनाले व्यवस्था गरेको छ।

आयोजना कार्यान्वयनका लागि स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन हुने र सोही समितिले आयोजना कार्यान्वयन हुने क्षेत्र, अनुदान व्यवस्थालगायत निर्णय गरी सिफारिस गर्ने व्यवस्था गरिएको छ। आयोजनाको स्किम–२ अन्तर्गत उद्यमी-कृषक समूह-सहकारीलाई फलफूल बगैँचा तथा तरकारी फार्म विकासमा ५० प्रतिशत अनुदान, स्किम–३ मा आयोजना लक्षित बालीहरूको मूल्य अभिवृद्धिमा ५० प्रतिशत अनुदानका कार्यक्रम समावेश गरिएको आयोजनाका प्रदेश प्रमुख डाँगीले जनाए।

आयोजनाको अनुगमन रुपरेखाअनुसार स्न २०३० सम्ममा लाभग्राही कृषकको कृषि आयमा १० प्रतिशतले वृद्धि गर्ने, आयोजना लागू भएका ५० स्थानीय तहले कम्तीमा ५० प्रतिशत कृषक घरपरिवारमा कृषि सूचना परामर्श प्रदान गर्ने, कम्तीमा ४० वटा नर्सरीसँग साझेदारी गर्ने, कम्तीमा १० वटा निजी नर्सरीमा रोगमुक्त बिरुवा उत्पादन गर्न सहायता प्रदान गर्ने लक्ष्य राखिएको छ। आयोजना आर्थिक वर्ष २०८६-८७ सम्म सञ्चालन हुने छ। आयोजनाले मुख्यतः एक पालिकामा एक सय हेक्टरको बगैँचा स्थापना गर्ने सोच राखेको आयोजनाका प्रदेश प्रमुख डाँगीको भनाइ छ।

आयोजना सञ्चालनबारे शुक्रबार फिदिममा जनप्रतिनिधि तथा सरकोरवालासँग आयोजित अन्तक्र्रियाका सहभागीले लक्षित बाली थप गर्नुपर्ने, सिँचाइको सुविधा विस्तार गर्नुपर्ने तथा बाली फल दिन सक्षम नभएसम्म कृषकलाई अतिरिक्त अनुदान दिनुपर्ने सुझाव दिए। पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेले बजार सुनिश्चित गर्न, वास्तविक कृषकले सहजै आयोजनाको लाभ लिन तथा अनुदान प्राप्त गर्ने व्यवस्था गर्न, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रभावकारी बनाउन भने। कृषक समूह महासङ्घका गणेशप्रसाद पोखरेलले उत्पादित फलफूल तथा काष्ठफलको बजार सुनिश्चितताका लागि घरेलु उद्योग स्थापना तथा प्रशोधनको व्यवस्था गर्न माग गरे।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले कार्यक्रमको प्रभावकारिताका लागि सिँचाइ बाधक हुनसक्ने भन्दै सोको प्रबन्ध गर्न आग्रह गरे। फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कम आय भएका परिवारको आयस्तर उकास्न कार्यक्रमलाई सदुपयोग गर्ने योजना नगरपालिकाले बनाउने बताए। यस्तै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गर्न आग्रह गरे।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित