विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या « Khabarhub

विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्य्त पुगेको छैन। स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन्।

तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन्। तर लघु जलविद्युत् आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा नहर नै बगाइदिने गर्दा स्थानीय मारमा पर्दै आएका छन्। विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित हुने गरेको छ।

वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान छन्। तर विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ। आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो–छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनुपरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए। जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रासारण विस्तार नगरिँदा यहाँका नागरिकले समस्या खेप्नुपरेको उनको भनाइ छ।

उक्त वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीनवटा बस्ती छन्। तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् आयोजनाको बिजुली छ। तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको छन्त्यालले बताए। नर्जाखानीमा ११ किलोवाट क्षमताको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्रिवनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छ। यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि पानी जम्मा गर्ने र बिहान–बेलुका बत्तीमात्रै बाल्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष छन्त्यालको भनाइ छ।

“बर्खामा खोला उर्लेर आउँछ, नहर र विद्युत् गृह बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ, हिउँदमा पानी ह्वात्तै घट्छ”, अध्यक्ष छन्त्यालले भने, “सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटना दर्ता गर्नुपर्ने हुन्छ, बिजुली नै आउँदैन, हातले लेखेर काम गर्नुपर्छ।”

अतिआवश्यक कागजात कम्प्युटरबाट गर्नु परे, विद्युत्गृहमा फोन गरेर एक–दुई घन्टा लाइन मागेर छिटोछिटो गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ। यस वडामा दुई सय ५० परिवारको बसोबास छ। यहाँस्थित नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको अध्यक्ष छन्त्यालले बताए। विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर थन्क्याउनुपरेको छ। हिउँदमा बिहान एक घन्टा र बेलुकी तीन घन्टा मात्र बत्ती बाल्न सकिने अवस्था छ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले नर्जाखानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले छ महिनाभित्र नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिने बताए।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित