‘जनकपुर विग मार्ट’मा भीषण आगलागी, १० करोड बढीको क्षति « Khabarhub

‘जनकपुर विग मार्ट’मा भीषण आगलागी, १० करोड बढीको क्षति


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भीषण आगलागी भयो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घण्टामै वारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो । 

सञ्चालक रामबाबु रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकाले रु १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए। उनले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए। 

‘क्षणभरमै जल्यो सम्पत्ति’

सर्लाहीको मलङ्गवा नगरपालिका-११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न हुनुहुन्छ । सुरुमा उनले काठमाडौँमा ‘डोर टु डो’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गरे र पछि अरुकै पसलमा बजार व्यवस्थापकका रुपमा काम गरे।

सर्लाहीबाट झोला भिरेर काठमाडौँ छिर्नुभएका रायले केही समय अरुको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गरे । ‘म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौँका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौँबाहिर जिल्ला जिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ’, भावविह्वल हुँदै रायले भने, ‘तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।’

व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५-१६ वर्ष उहाँले काठमाडौँको न्यूरोडस्थित रञ्जना हाउस र महाबौद्धबाट व्यापार गरे। तर विसं २०७२ को गोर्खा भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर झरेका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरु गरे। छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोर समेत रहेको घरमा लगानी गरे। 

‘म एकै पटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरु सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो”, रायले भने । रायले यही व्यापारलाई बढाउन काठमाडौँको थानकोटमा रहेको चार आना जग्गा, लज र अरु सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट रु तीन करोड ६५ लाख ऋण (लोन) लिएको बताए । 

‘पीडामाथि पीडा’

रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनको श्रीमती थिइन्। उनले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिरहेका थिए। ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो”, रायले आफ्नो पीडा सुनाए । 

जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भाेगे । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोग्नुभएका उहाँ दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा हुनुहुन्थ्यो । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याएका थिए । 

‘समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए’, गम्छाले टिलपिलाएका आँसु पुच्दै रायले भने, ‘भगवान१ पीडामाथि पीडा किन दिएको रु अब के गरेर खानु रु कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।’ 

सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिँदा गरिने बीमाबाहेक सामानको बीमासमेत गरेका छैनन् । ‘जायजेथा बेचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौँबाट भूकम्पले विस्थापित गर्‍यो, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिवास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने !’ रायले निराशा पोखे । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित