गण्डकीमा दूध, मासु र अण्डा उत्पादनमा गिरावट « Khabarhub

गण्डकीमा दूध, मासु र अण्डा उत्पादनमा गिरावट


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो । 

आव २०७८-७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब १४ प्रतिशतले कमी हो । 

मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८-७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आव २०७८-७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए। अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलब ७२ प्रतिशतले गिरावट आएको उनको भनाइ छ ।

‘दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो’, डा न्यौपानले भने, ‘गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो, यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ ।’ उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन् । उक्त रोगको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार दुई सय ४७ गाईबस्तु मरेका छन् भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।

गत आवमा अफ्रिकन स्वाइन फ्लुका कारण ठूलो सङ्ख्यामा बङ्गुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताए। ‘गत आवमा १८ हजार २० बङ्गुर मर्दा झण्डै रु २४ करोडको क्षति भएको हाम्रो अनुमान छ’, उनले भने, ‘अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ ।’ उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बङ्गुर सङ्क्रमित भएका थिए ।

संयक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ । मापदण्डअनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८-७९ मा एक सय १७ र गत आवमा एक सय १० लिटर दूध उपलब्ध भएको पाइएको छ । 

एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८-७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । वर्षमा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८-७९ मा एक सय ४३ र गत आवमा एक सय एक गोटा अण्डा उपलब्ध भएको भएको देखिन्छ ।

वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुनसकेको छैन । मासु २० किलो र अण्डा ६० गोटा पुर्‍याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित