भक्तपुर–नगरकोट सडक निर्माण गुणस्तरहीन रहेको निष्कर्ष « Khabarhub

भक्तपुर–नगरकोट सडक निर्माण गुणस्तरहीन रहेको निष्कर्ष


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको छ ।

सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालिएको हो ।

सडक अनुगमनपछि नगरकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सडक अनुगमनका क्रममा निर्माण कम्पनीले सडकको कालोपत्र गुणस्तरहीन रहेको निष्कर्ष निकालेको बताए ।

उनले भने, ‘सडक निर्माणको अन्तिम चरणमा पुगेको पाइयो तर सडकको कालोपत्र गुणस्तरीय छैन, अहिलेकै अवस्थामा सडक स्तरोन्नति गरेरमात्रै हस्तान्तरण गर्नुपर्ने देखिन्छ, यद्यपि झरी रोकिनेबित्तिकै सडक निर्माणको बाँकी काम अगाडि बढाएर आगामी दसैँसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्, अब पनि निर्माण सम्पन्न नभए सरकारले ठेक्का रद्द गरेर कारबाही गर्नेछ ।’

निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको जनाउँदै विभिन्न ठाउँमा आएका अवरोध हटाउन पहल गर्ने बताए ।

अनुगमनमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटक–पटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगरप्रमुख तथा उपप्रमुख आफैँ उभिएर समस्या समाधान गर्न तत्पर रहेको जानकारी दिए ।

अनुगमनमा सहभागी नेकपा (एमाले(का जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेत, नेकपा (माओवादी केन्द्र)का सुनिल वासु, राप्रपाका केन्द्रीय सहमहामन्त्री रवीन्द्रप्रताप शाह, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले छिटो निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्न आयोजनालाई आह्वान गरे ।

भक्तपुर–नगरकोट सिपाघाट÷बालाजु त्रिशूली सडक योजना कार्यालयको आयोजनाअन्तर्गत रहेको उक्त सडकको आयोजना सब–इन्जिनियर सुनिता धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदै आगामी असोजसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको जानकारी दिइन् ।

शैलुङ कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गरे ।

विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ जेठ २२ गते शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

२७ करोडमा ठेक्का सम्झौता भए पनि बजेट थप गरेर ३१ करोड पुर्याइएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड नौपटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि यसअघि सरकारले ठेक्का सम्झौता रद्द गर्न पत्राचारसमेत गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित