निकुञ्जमा सडक निर्माण गर्न ‘डीपीआर’ र ‘ईआईए’ « Khabarhub

निकुञ्जमा सडक निर्माण गर्न ‘डीपीआर’ र ‘ईआईए’


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइने भएको छ ।

यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेपछि प्रक्रिया सुरु गर्न लागिएको हो ।

डीपीआर निर्माण गर्नका लागि भरतपुरको ध्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्रयापिङ) क्यामेरा जडान गरिने भएको छ । १५ देखि २१ दिनको क्यामेरा ‘ट्रयापिङ रिपोर्ट’का आधारमा ती काम गरिनेछ ।

यसै आधारमा डीपीआर निर्माण गर्दा ‘अण्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिए । ‘ईआईएका लागि यसअघि नै वन मन्त्रालयले स्वीकृत दिएको छ’, उनले भने, ‘डीपीआर गर्नका लागि निकुञ्जलाई आइतबार पत्र पठाउँछौँ ।’

उनले निकुञ्जबाट स्वीकृतप्राप्त गरेको पत्र आउनासाथ सर्भेको काम अघि बढ्ने बताए । उनले भरतपुर–२३ को ध्रुवघाटबाट माडीको रिउसम्मको क्षेत्रमा प्रारम्भिकरूपमा सर्भे गरिने जानकारी दिए ।

उनले सर्भे, डिजाइन र इआइएको काम सकिएपछि मात्र लगानीको स्रोत जुटाएर निर्माणको काम अघि बढ्ने बताए । उनले डीपीआर निर्माणका लागि छ महिनादेखि एक वर्षसम्म लाग्ने जानकारी दिए । डीपीआरको काम सकेपछि ईआईए गर्ने उनको भनाइ छ ।

भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्र बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो ।

यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी वातावरणीय इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।

निरीक्षणमा वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेल, बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन, माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, हुलाकी सडक आयोजनाका प्रमुख ध्रुव झालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  १२ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित