वैशाख ११ बाट मेलम्चीको पानी समानुपातिक ढंगले वितरण हुनुपर्छ : मन्त्री चौधरी « Khabarhub

वैशाख ११ बाट मेलम्चीको पानी समानुपातिक ढंगले वितरण हुनुपर्छ : मन्त्री चौधरी

चुहावट नियन्त्रणमा लाग्न केयूकेएललाई निर्देशन


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी बैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० वटै पानी रिजर्भ ट्यांकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताएका हुन्।

गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पथान्तरण गरेपछि मंगलबार सुरुङको पानी सुन्दरीजल आईसकेपछि मन्त्री चौधरीले पानी प्रशोधन केन्द्रमै समस्या र समाधानका विषयमा सम्वद्ध निकायका प्रमुख र सरोकारवालालाई यस्तो निर्देशन दिएका हुन्।

‘आगामी वैशाख ११ गते काठमाडौँ उपत्यकाका नागरिकका घरको धारामा पानी आउनु पर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन’ मन्त्री चौधरीले भने, ‘पानी वितरणको लागि धेरै वटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।’ उनले काठमाडौँको कुनै ठाउँमा पुरानो र मेलम्चीको नयाँ धारामा गाडी धुने गरी पानी आउने र कुनै नागरिकको घरमा पिउनको लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह गरे ।

४० प्रतिशतसम्म खानेपानीको चुहावट हुने गरेको विवरण सुन्दा आफूलाई अचम्म लागेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न र पानीको शुल्क उठाउन केयुकेएललाई निर्देशन दिए ।

मन्त्री चौधरीको प्रश्न थियो, ‘मेलम्चीको पानी काठमाडौँबासीले प्रयोग गरेबापत शुल्क लिने हो भने आफूहरुलाई शुल्कको २५ प्रतिशत आम्दानी स्थानीय हेलम्बु गाउँपालिकाले मागिरहेको अवस्थामा शुल्क उठाउने कुरामा केयुकेएलले किन प्रगति गर्न सकेन ?

एसियाली विकास बैंक (एडिबी) ले समेत केयुकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको मन्त्री चौधरीले बताए। उनले बर्षायाममा मेलम्ची नदीमा पुन बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्व सूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाईड्रोलिक गेट हाल्न निर्देशन दिए।

खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपाति ढंगले वितरणको लागि पूर्वतयारी गर्नु पर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनु पर्ने बताए ।

खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव राणाले कतै दुई वटा धारामा पानी आउने र कतै दुई वटै धारामा पानी नआउने अवस्थामा उपभोत्तालाई असमानताको महसुश हुने र महसुल संकलनमा समस्या हुने बताए।

केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाईपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताए। उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए ।

उनले काठमाडौँ उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाईपलाईनमा मात्र पानी वितरण हुने जानकारी दिए। आगामी आइतबारदेखि केयुकेएलले महाँकालचौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुन्जे रिजर्भवेर टैंकबाट पानी वितरण हुने भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित