बागलुङ नगरपालिकामा राखिएका होडिङ बोर्ड हटाइँदै « Khabarhub

बागलुङ नगरपालिकामा राखिएका होडिङ बोर्ड हटाइँदै


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुङ्गा र कालिका भगवती मन्दिर वरपर राखिएका होडिङबोर्ड हटाउन सुरु गरिएको हो । नगरपालिकाले सहरको सुन्दरताका लागि भन्दै त्यस्ता होडिङबोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताए ।

उनकै संयोजकत्वमा बनेको ‘विज्ञापन होडिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुङ्गामा रहेका बोर्ड हटाउन सुरु गरेको हो । यहाँबाट हटाइका बोर्ड अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिइने वडाध्यक्ष केसीले बताए । सार्वजनिक जग्गामा रहेका बोर्ड नगरपालिका आफैले हटाएको र व्यक्तिगत जग्गामा भएका बोर्ड हटाउन पहिलो चरणमा १५ दिन र दोस्रो चरणमा ७ दिनको म्याद दिइएको छ ।

‘हामीले जग्गाधनी र बोर्डधनी दुवैलाई जानकारी गराएका छौँ, केहीले सकरात्मक हिसाबले हटाउनुभयो, बाँकी केही हट्दै छन्’, उनले भने,’नगर कार्यपालिकाको बैठकबाट निर्णय भएरै यो काम भइरहेको छ । प्रवेशद्वारमा रहेका होटल, रेष्टुराँ, बैंक तथा वित्तीय संस्था, विभिन्न कम्पनी र सामाजिक सङ्घ संस्थाले राखेका स्वागत बोर्डसमेत हटाउन लागिएको छ ।’

‘अब चारवटा ठूला बोर्ड व्यक्तिका जग्गामा बाँकी छन्, उहाँहरुले सात दिनभित्र आफै हटाउँछौँ भन्नुभएको छ’, वडाध्यक्ष केसीले भने ‘तोकिएको समयभित्र नहटाए हामी हटाउँछौँ ।’ मालढुङ्गामा बागलुङको परिचय झल्किने गरी डिजिटल बोर्ड राख्ने योजना रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले जिल्लाका पर्यटकीय क्षेत्र, यहाँका कला संस्कृति र भूगोलको विषयमा जानकारी समेटेर डिजिटल बोर्ड राख्ने योजना बनाएको छ ।

बागलुङ कालिका भगवती मन्दिरको प्रवेशद्वार आसपासमा रहेका बोर्डसमेत नगरपालिकाले हटाउन भनेको छ । प्रसिद्ध कालिका मन्दिरको मौलिकता हराउनेगरी विज्ञापन बोर्ड राखिएको भन्दै नगरले हटाउन भनेको हो । ‘बागलुङ आउने पर्यटकको लागि पहिल्यै नकारात्मक प्रभाव पर्ने भो, त्यसैले विज्ञापन बोर्ड हटाउने भनेका हौँ उनले भने ,’अब त्यहीँ ठाउँबाट बागलुङको चिनारी दिने योजना छ।’ बोर्ड हटाइएको विषयमा जिल्लाका व्यवसायीले भने आपत्ति जनाएका छन् । बिना जानकारी व्यक्तिको सम्पत्ति नगरपालिकाले जबर्जस्त क्षति पुर्‍याएको उनीहरूको आरोप थियो । 

‘नत कुनै सूचना छ, न जानकारी, यत्तिकै हाम्रो बोर्ड किन फालिएको हो, हटाउन भनेको भए हामी आफैँ हटाउँथ्यौँ’ होटल दि राजनका सञ्चालक एञ्जील शाक्यले भने,’वार्षिक भाडा तिरेका छौँ, बोर्ड बनाउँदा ७०/८० हजार खर्च भएको छ, त्यसको सुरक्षा गर्न नगरपालिकाले किन नदिएको हो ?’ व्यवसायीले बिना जानकारी बोर्ड हटाएर फाल्नु गलत भएको बताए । प्रवेशद्वार सुन्दर बनाउन लागेको नगरले बागलुङ बजारका घरमा पनि प्लाष्टर गरेर रङरोगन गर्न भनेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित