नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने « Khabarhub

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । 

अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरूप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताए। उनले भने, ‘डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ । कुन-कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ ।’

हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० जहाज छन् ।

गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महिनापछि गत कात्तिक १७ देखि हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एयरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ ।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणको भनाइ छ । 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै  अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरूपमा आग्रह गरिसकेको छ ।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत भएको छ । यो विमानस्थलबाट नोभेम्बर १२ तारिखदेखि कुवेत एयरले पनि उडान सुरु गर्ने प्राधिकरणले जनाएको छ । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ ।

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो । 

विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ । यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित