आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी « Khabarhub

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- आफ्नो भवन नभएका कारण भाडामा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यामा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् ।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ । चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ ।

यारी प्रहरी चौकीका  इन्चार्ज तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्ने बित्तिकै चुहिने गरेको बताए । चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेका दुखेसो उनले पोखे । बर्सेनि यहाँका प्रहरीले यस्तो समस्या भोग्दै आएको छन् ।  दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा सुरक्षित आवास तथा व्यवस्थापन नहुँदा समस्या हुँदै आएको छ ।

आकाशमा बादल देखिने बित्तिकै फोन सम्पर्कसमेत नहुने गरेको प्रहरीको गुनासो छ । सीमा क्षेत्रमा भाषाको समेत उत्तिकै समस्या रहँदै आएको छ । यहाँ मात्र होइन, हिमाली क्षेत्रमा रहेका अधिकांश प्रहरी चौकी तथा अन्य सरकारी कार्यालयको अवस्था नाजुक रहेको छ । सरकारी उपस्थिति समेत कम हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी इकाइ छन् । तर, अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ । भाडाका १४ प्रहरी चौकीमध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन् ।

भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।  भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती व्यहोर्दै सेवा प्रवाह गरिरहेका छन् । भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ । एउटै घरमा कार्यालय र ब्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ । भाडाको नाममा मासिक करिब ५ लाख रुपैयाँसम्म खर्च भइरहेको प्रहरीको भनाइ छ । केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ । केही ठाउँमा गाउँपालिकाले व्यहोरिरहेको छ ।

सीमा प्रहरी चौकी हिल्सा, प्रहरी चौकीहरू यारी, धारापोरी, खार्पु, याङ्चु, सर्केदेउ, पिप्लाङ र मिमीमा भाडाको घरमा प्रहरी बसिरहेको छ । त्यस्तै गल्फागार्ड, छप्रेला, मैला, कवाडी र तुम्च प्रहरी चौकी पनि भाडाको घरमा राख्नुपरेको छ ।

ट्राफिक प्रहरी कार्यालय सिमकोटको पनि आफ्नै भवन छैन । कतिपय ठाउँका प्रहरी चौकी भवन जीर्ण हुँदा ढल्ने अवस्थाका रहेको बताएको छ ।   ग्रामीण क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त घर नहुँदा स्टोर, ब्यारेक र कार्यालय एउटै घरमा राख्नुपरेको प्रहरीको गुनासो छ ।

विपद् व्यवस्थापनका सामग्री राख्ने ठाउँसमेत नहुँदा गाउँमा कुनै घटना भए नियन्त्रणमा समस्या हुने गरेको छ  । जिल्ला प्रहरी कार्यालयसहित ६ वटा प्रहरी चौकी मात्र अहिले आफ्नै भवनमा छन् । सदरमुकाम सिमकोटस्थित इलाका प्रहरी कार्यालय डिभिजन वनको भवनमा बस्दै आएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १२ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित