मलको अभाव यसवर्ष पनि उस्तै, उत्पादन घट्ने किसानको चिन्ता « Khabarhub

मलको अभाव यसवर्ष पनि उस्तै, उत्पादन घट्ने किसानको चिन्ता


२१ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा रासायनिक मलको अभाव भएको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल आवश्यक परिसक्दा पनि मल नपाएको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीको गुनासो छ । ‘गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ’, उनले भने, ‘यस वर्ष पनि समस्या त्यस्तै छ ।’ मल पाउने आशामा किसान दैनिक सहकारी संस्थामा धाउने गरेका छन् । मल अभावका कारण समयमै खेतीपाती गर्न नपाएमा उत्पादन घट्ने चिन्ता किसानको छ ।

किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताएका छन्। आलोपालो गरेर सहकारीमार्फत रासायनिक मल वितरण गर्दै आएको भए पनि अझै अभाव रहेको उनले बताए । नेपालमा वार्षिक आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि वार्षिक तीनदेखि चार लाख मेट्रिक टन मात्रै रासायनिक मल आयात हुने भएकाले यस्तो समस्या आउने गरेको हो ।

न्यौपानेका अनुसार दाङमा मात्रै सबै बालीको लागि वार्षिक युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक पर्छ । कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य रु ३०० देखि ३५० प्रतिशतले वृद्धि भएको बताउँदै न्यौपानेले मल खरिदका लागि यो वर्ष कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको आठ वटा अन्तर्राष्ट्रियस्तरका ग्लोबल टेण्डर नपरेकाले पनि समस्या भएको जानकारी दिए ।

नेपाल सरकारले ५० हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र गरेकाले असार महिनाभित्र मल प्राप्त हुने अपेक्षा गरिएको छ । बोलपत्र नपरे पनि सरकारले भारतबाट (जिटुजी) अन्तर्गत मल आयात गर्ने सहमति भएकाले धानखेतीको समयमा मलको हाहाकार नहुने उनले बताए।

दाङका लागि कृषि ज्ञान केन्द्रले ४९७ मेट्रिक टन मल उपलब्ध गराएको थियो । दाङका तीन वटा कृषि सामग्री कम्पनीबाट ती मल वितरण गरिन्छ । कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका लागि २२६ मेट्रिक टन डिएपी मल आवश्यक पर्नेमा ५०-६० टन मात्रै आउन बाँकी रहेको प्रमुख न्यौपानेले बताए । कृषि सामग्री लिमिटेड तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिकासँग समन्वय गरेर वितरण गरिरहेको छ ।

त्यस्तै अहिले दाङमा डिएपी मल केही मात्रामा पाइए पनि युरिया मल भने जिल्लामै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताए । उनका अनुसार अहिलेको अवस्थामा दाङलगायत देशैभरि युरिया मलको अभाव छ तर साल्टट्रेडिङ कर्पोरेशनबाट युरिया र डिएपी मल ल्याउने प्रक्रिया भइरहेको छ। असारको पहिलो सातासम्म मल आउन सक्ने सम्भावना छ ।

खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित