धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता « Khabarhub

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् ।

ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले पनि लिँदै आएका छन् ।

राज्यका तर्फबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि निजी क्षेत्रबाट हुने करोडौँ आम्दानीलाई भने नियमले छोएको छैन । निवृत्तिभरण बुझ्नेले यस्तो सुविधा नपाउने भए पनि निजी क्षेत्रमा व्यापार व्यवसाय गर्ने धनाढ्यहरुलाई भत्ता लिन कानूनी अड्चन छैन ।

भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढ क्षेत्रमा पर्ने वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डितले भने, “जति नै धनी भए पनि सामाजिक सुरक्षा भत्ता लिन्न भन्ने कोही छैन ।”

बच्चा लिएर एक व्यापारी मर्सिडिज कारमा आफ्नो कार्यालयमा छोराको पोषणा भत्ता लिन आएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “हामीलाई सामाजिक सुरक्षा भत्ता चाहिँदैन भनेर उदारता देखाउने भेट्नै मुस्किल छ ।”

नारायणगढमै पर्ने वडा नं १ का सचिव मधुराम दुवाडी राज्यले सामाजिक सुरक्षा भत्ता शीर्षकमा दिएको सुविधा नारायणगढकी समाजसेवी मैयाँदेवी श्रेष्ठ र महेश्वरलाल श्रेष्ठबाहेक आफ्ना वडाका कसैले लिन्न नभनेको बताए । उनले भने, “महेश्वरलालले लिन्न भन्नुहुन्थ्यो, उहाँ बितेर जानुभयो, मैयाँदेवीले म लिन्न नहुनेलाई दिनुपर्छ भन्नुहुन्छ ।”

जिल्लामा अधिकांश सरकारी कार्यालय रहेको सम्पन्न क्षेत्रका रूपमा परिचित महानगरको वडा नं १० का अध्यक्ष अरुण पीडित भण्डारीले सबैले सामाजिक सुरक्षा भत्ता लिने गरेको बताए । उनले भने, “निवृत्तिभरण पाउनेले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्, अरुले म लिन्न भनेर कसैले भन्न आएका छैनन् ।”

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम आफूले चिनेजानेका र परिवारका सदस्यलाई सामाजिक सुरक्षा भत्ता नलिन अनुरोध गर्दै आएको बताउँछन् । उनले भने, “सम्पन्नहरुले राज्यबाट प्राप्त हुने यस्ता सुविधा लिनु उचित हुँदैन ।” राष्ट्र बैंकमार्फत् दिइने ब्याजको सहुलियत रकमसमेत सक्नेले लिन नहुने तर्क राख्दै उनले भने, “जसले सक्दैन, त्यसलाई सहयोग गर्नुपर्छ ।”

भरतपुर महानगरपालिकाको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम हेर्ने तुलसीप्रसाद श्रेष्ठका अनुसार राज्यले ७० वर्षमाथिका सबै जेष्ठ नागरिकलाई मासिक रु तीन हजार दिँदै आएको छ । यो रकम आगामी साउन १ गतेदेखि रु चार हजार हुँदैछ । यस्तै दलित जेष्ठ नागरिकले ६० वर्ष कटेपछि मासिक रु दुई हजार पाउँछन् ।

एकल महिलाले रु दुई हजार, दलित बालबालिकाले पोषण भत्ताबापत रु ४०० र पूर्ण अपाङले रु दुई हजार एवं आंशिक अपाङ्गले रु एक हजार ६०० मासिक भत्ता पाउँछन् । यी भत्तामा आगामी साउन १ गतेदेखि ३३ प्रतिशतले वृद्धि हुँदैछ ।

भरतपुर महानगरमा मात्रै वार्षिक रु ६९ करोड हाराहारी सामाजिक सुरक्षा भत्ता वितरण हुने उनले जानकारी दिए । उनका अनुसार भत्ता लिन नचाहनेहरुले पालिकामा स्वयं घोषणा गरेमा उनीहरुलाई पुरस्कृत र सम्मान गरेर सार्वजनिक गर्ने व्यवस्थासमेत रहेको छ । यद्यपि हालसम्म महानगरमा स्वयं घोषणा गर्न कोही नआएको उनले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार जिल्लाका सात पालिकामार्फत वार्षिक रु एक अर्ब ४८ करोड ४७ लाख निकासा हुँदै आएको छ । यो रकम आगामी आर्थिक वर्षमा ३३ प्रतिशतभन्दा बढीले थपिने छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित