ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक « Khabarhub

ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुईवटै मात्रा लगाइसकेका छन् । शुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला भन्ने निकै डर थियो ।

डरकै कारण अधिकांशले खोप लगाउन मानेका थिएनन् । खोप लगाउन नमानेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको प्रयासमा विश्वस्त पारी पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाइएका ज्येष्ठ नागरिकले दोस्रो खोप भने सहजै लगाए ।

दुवै मात्रा खोप लगाइसकेपछि भने अहिले वृद्धाश्रममा बस्ने प्रत्येक ज्येष्ठ नागरिकले आफूलाई सुरक्षित महसुस गरेको अध्यक्ष प्रेम लिगलको भनाइ छ । ‘शुरुमा खोप लगाउन विश्वस्त पार्न धेरै नै प्रयास गर्नुपर्‍यो’, उनले भने, ‘अहिले भने दुवै मात्रा लगाइसकेका कारण उनीहरू आफ्नो स्वास्थ्य सुरक्षाप्रति ढुक्क देखिन्छन् ।’

दुवै मात्रा खोप लगाए पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्देशन भने सबैले पालना गरिरहेका छन् । कास्कीकै पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रममा बस्ने सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेको वृद्धाश्रमका सचिव केशवराज लम्सालले जानकारी दिए ।

कोरोना सङ्क्रमणबाट ज्येष्ठ नागरिक बढी प्रभावित हुन सक्ने अवस्थालाई दृष्टिगत गरी खोप प्राप्त हुनासाथ आवश्यक पहल गरी वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तत्कालै खोप लगाइएको उनले बताए । लम्सालका अनुसार खोप लगाएसँगै ज्येष्ठ नागरिकमा आत्मविश्वास बढेको पाइएको छ । सरकारले पनि ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोपका लागि प्राथमिकता दिएको समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सञ्चालक सदस्यसमेत रहेका उनको भनाइ छ ।

नेपालमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको सङ्ख्या २७ लाख रहेको उनले जानकारी दिए । दुवै मात्रा खोप लगाएका ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्य सुरक्षाबारे ढुक्क बनेको उनको भनाइ छ । कास्कीमा वितरीत खोपमध्ये कोभिसिल्ड पर्याप्त नआउँदा अझै पनि केही ज्येष्ठ नागरिक दोस्रो मात्रा लगाउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बताए ।

जिल्लामा पहिलो पटक कोभिसिल्ड खोप लगाएका ६५ वर्ष उमेर समूहभन्दा माथिका करिब ३२ हजार नागरिक दोस्रो खोपको पर्खाइमा रहेको जानकारी दिँदै उनले उनीहरूलाई आउँदो आइतबार, सोमबारतिर कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउने तयारी गरिएको बताए ।

नेपालमा कुल जनसङ्ख्यामध्ये ६० वर्षभन्दा माथिका नागरिकको सङ्ख्या झण्डै १० प्रतिशत रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले बताउनुभयो । ६० वर्षभन्दा माथिका नागरिकलाई ज्येष्ठ नागरिक भनिए पनि राज्यले प्रदान गरिने सामाजिक सुरक्षा लगायतका अधिकांश सेवा सुविधाका लागि भने ७० वर्ष उमेर पुग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित