असुरक्षित बन्दैछन् दुर्गमका देवता « Khabarhub

असुरक्षित बन्दैछन् दुर्गमका देवता


२८ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् ।

डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति, जीवनशैली पनि पर्यटकको रोजाइ पर्दै आएसँगै त्यहाँका पुराना मूर्तिसमेत असुक्षित बन्दै आएका छन् ।

आधा समय तल्लो डोल्पाका बिभिन्न ठाउँमा उपल्लो डोल्पाका स्थानीयवासी चिसो छल्न झर्ने गर्दछन् । उपल्लो डोल्पाका सर्वसाधारणलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बालाई जोगाउन हम्मेहम्मे परेको नागरिक अगुवा शेर बुढाले बताए ।

गुम्बा बौद्धमार्गीका आस्थाका धरोहरका रूपमा रहेका प्राचीन मूर्ति प्रत्येक वर्ष चोरी भए पनि चोरीमा संलग्न नभेटिएपछि समस्या हुँदै गएको बुढाले बताए ।

कानूनी प्रावधानसमेत फितलो हुँदा तस्करको मनोबल बढेको भन्दै उनले भने, ‘नयाँ मूर्ति किन्दा लाखौँ पर्छ, पुराना मूर्ति सबैको मिलेमतोमा मूल्यहीन बनाउने देखियो । गरिबी तथा बेरोजगारलाई मूर्ति चोरी गर्ने कार्यमा प्रयोग गरी ठूला माफियासम्म पुग्ने गरेको छ । दण्ड, सजाय फितलो छ । प्रहरी निगरानी कमी, अनुसन्धान गर्ने मान्छे लामो समयसम्म बस्न नपाउनु, पहुँचवाला र चोरीको सूचना दिने व्यक्ति नै असुक्षित हुँदा समस्या भएको छ ।’

पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बालगायत प्राचीन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चोरी भएकामा चार थान मूर्ति मात्रै बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार २०७२ मङ्सिर २७ गते शे–फोक्सुन्डो गाउँपालिका–३ मा रहेको सेलरी सोम्दो गुम्बाबाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेला पर्न सकेको छैन । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिका–३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते राति चार थान बुद्धका मूर्ति, बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो ।

पुरातात्विक मूर्तिसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थ पनि हराएका थिए । हराएका चार थान मूर्तिमध्ये तीन थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयवासीको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको प्रहरीले जनाएको छ । एक थान मूर्ति अझै फेला पर्न सकेको छैन ।

पुरातात्विक मूर्ति र धम्रगन्थ जाँचका लागि पुरातत्व विभाग काठमाडौँ लगिएको दुई वर्ष चार महिनापछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै छार्काताङसोङ गाउँपालिका–१ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको एक थान बुद्धको मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा तत्काल बरामद गरिएको थियो ।

त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत रिग्मोगाउँमा पर्ने ६०० वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट विसं २०७५ मा हराएका सात थान मूर्ति अझै पत्ता लाग्न सकेको छैन । ‘गुम्बाका मूर्ति सबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको छ, चोर पत्ता लागेर पनि कोही कारागारमा छन्, कोही धरौटीमा छुटिसके, मूर्ति भने अझै पत्ता लाग्न सकेका छैनन्’, से–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा लामाले भने ।

‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीको आस्था पनि लुटेका छन्, अहिले रित्ता गुम्बामा आस्था जोगाउनुपर्ने बाध्यता छ’, लामाले भने । नेपालकै गहिरो शे–फोक्सुण्डो तालको छेउमै रेहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको थियो । ताल पुगेका पर्यटक एकपटक गुम्बा पुगेरै फर्किने गरेको वडाध्यक्ष लामाले बताए ।

सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् । यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ ।

मन्दिर बस्तीभन्दा टाढा हुँदा बढी असुरक्षित हुने गरेको उहाँको भनाइ छ । मन्दिरबाट मूर्तिलगायत बहुमूल्य धातु चोरी गरेर विदेशसम्म लैजाने गरेको पाइन्छ । कर्णालीका धार्मिक मन्दिरको अवस्था कस्तो स्थितिमा छन् भन्ने लेखोजोखा छैन ।

यस्तै विसं २०५७ कात्तिक १ गते राति डोल्पाकै त्रिपुरासुन्दरीस्थित बाला त्रिपुरासुन्दरी मन्दिर चोरी भएको थियो । सोलुखुम्बु पाबाचे गुम्बाका २४ वर्षीय लाक्याछिरिङ घोक्वा, डोल्पा रिमीका १६ वर्षीय भीमबहादुर विकलाई पुरातात्विक मूर्ति चोरी गरेको ठहर गर्दै जिल्ला अदालतले रु ७५ हजार जरिवानासहित पाँच वर्ष कैद ठहर गरेको थियो ।

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–५ काँडास्थित बुरामष्टको मन्दिरमा यही आइतबार राति चोरी भयो । मन्दिरबाट रु तीन लाख ५४० नगद, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भए । मन्दिरको उत्तरतर्फको ढोका फोडेर चोरी भएको बुरामष्ट क्षेत्र विकास कोषका अध्यक्ष ध्रुवराज केसीले जनाए ।

राज्यले मन्दिरलाई संरक्षण गर्न नसक्दा दुर्गम क्षेत्रका मन्दिर असुरक्षित हुँदै गएका छन् । यसभन्दा अघि जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरबाट समेत मूर्ति हराएका थिए । विसं २०७३ मङ्सिर १२ गते खलङ्गाबजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरीमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ९ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित