सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही « Khabarhub

सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही


४ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् ।

प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा शाहीले हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्न सके सङ्क्रमण फैलिन नसक्ने बताए ।

मुख्यमन्त्री शाहीले दोस्रो चरणको सङ्क्रमण फैलिन नदिन कर्णाली प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको बताए । ‘भारतबाट फर्किएकालाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ, मुलुकका विभिन्न स्थानबाट आउनेहरुको पिसिआर रिर्पोट अनिवार्य मागिएको छ’, उनले भने, ‘अबको मुख्य चुनौती सामान ढुवानी गर्ने व्यक्ति नै हुन्, उनीहरुसंग दैनिक पिसिआर रिर्पोट हेर्न पनि सम्भव भएन ।’ उनले ढुवानीमा संलग्न मजदूरहरुबाट थप जोखिम निम्तिन सक्नेप्रति चिन्ता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नभएकाले नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउँदै मास्क बिना नै हिँडडुल गरे प्रहरीले सचेतनापूर्वक पहिलोपटक मास्क वितरण गर्ने बताए । ‘यदि दोस्रोपटक पनि तिनै व्यक्ति मास्क बिनै बाहिर निस्केको पाइएमा कानून अनुसार कारबाही हुन्छ’, उनले भने, ‘कोरोनाबाट जोगिने मुख्य हतियार भनेकै मास्क हो, मास्क लगाउन, भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरे कोरोनाबाट सुरक्षित रहन सकिन्न ।’

शहीदका सपना पूरा गर्छौं

मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत भएकाहरुको सपना पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘शहीदकै कारण कर्णाली प्रदेश स्थापना भएको छ’, उनले भने, ‘हाम्रो प्रदेश आन्दोलनबाटै बनेको हो, त्यसैले आज प्रदेश स्थापना दिवस मनाउँदैछौं ।’ उनले शहीद परिवारका माग क्रमशः सरकारले पूरा गर्दै आएको प्रष्ट पारेका छन् ।

‘प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने महान शहीदहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको सर्वविदितै छ,’ उनले भने, ‘कोरोनाले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था हाम्रा सामू छैन, त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रम गर्न सबैमा आग्रह गर्दछु ।’

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ४ अर्थात् आजकै दिनलाई प्रदेश स्थापना तथा शहीद दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

२०७२ साल साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर वीसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले सहादत प्राप्त गरेका थिए । तत्कालिन सरकारले मृतकलाई शहीद घोषणा गर्नुका साथै अलग प्रदेश स्थापनाको माग पूरा गरेपछि आन्दोलन स्थगित भएको थियो । कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि २०७२ भदौ ४ गते प्रमुख राजनीतिक दलबीच प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरावलोकन गर्न बाध्य भएका थिए । अन्ततः ७ प्रदेशसहितको सङ्घीय संरचना निर्माण गर्ने समझदारी अनुरुप साबिक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम भाग) समेटेर ६ नम्बर प्रदेश घोषणा भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  २ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित