लगनटोलमा ३ करोड लगानीमा सुविधा सम्पन्न पार्क बन्ने « Khabarhub

लगनटोलमा ३ करोड लगानीमा सुविधा सम्पन्न पार्क बन्ने


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको केन्द्रमा रहेको वडा नम्बर–२१ को लगनटोलमा सत्तल, पार्क, संग्राहलय, स्कल्पचर, पोखरी र ढुंगेधारसहितको सुविधा सम्पन्न पार्क बन्ने भएको छ ।

आफ्नो क्षेत्र भित्रका खाली जग्गामा हरियाली प्रवद्र्धन गर्ने र पार्क निर्माण गर्ने योजना अनुसार नै काठमाडौँ महानगरपालिकाले यो स्थानमा पार्क निर्माणको काम अघि बढाएको हो ।

करीब चार रोपनी क्षेत्रफलमा फैलिएको सो स्थानमा लंग पार्क निर्माणका लागि आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिमित सङ्ख्यामा उपस्थित स्थानीय र अतिथिहरुका बीचमा शिलान्यास गरे।

२०७२ बैशाख १२ को भूकम्प अघिसम्म नेपाली सेनाले सिलखाना (हतियार भण्डारण गर्ने) का रुपमा प्रयोग गर्दै आएको सो क्षेत्र अहिलेसम्म पनि भग्नावशेषका रुपमा रहँदै आएको स्मरण गराउँदै प्रमुख शाक्यले सोही स्थानमा पार्क निर्माणको योजना अघि बढाएको बताए ।

‘कुनै समय ऐतिहासिक प्रशासनिक इकाइका रुपमा रहेको भित्रि शहर लगन चोकमा यस्तो ऐतिहासिक पार्क निर्माणका लागि आज शिलान्यास गर्दै–गर्दा निकै खुशी लागेको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले ३२ वटै वडामा रहेका खाली जग्गाहरुको संरक्षण गर्दै पार्क निर्माणको अभियान अघि बढाएका छौँ । त्यहि अन्तरर्गत आज यहाँ लंग पार्कको शिलान्यास भएको हो । हामीले करीब एक वर्ष यहाँका स्थानीय र सरोकारवालाहरुसँग छलफल गरेर यो कामलाई औपचारिक रुपमा अघि बढाएका हौँ ।’

उनले भित्रि सहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा खुला ठाउँको संरक्षण गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भनेर नै यस्ता पार्क निर्माणको कामलाई तिव्रता दिएको बताए ।

‘यो पार्क ऐतिहासिक र पुरात्वात्तिक महत्वलाई पनि ध्यान दिएर निर्माण गर्न लागेका छौँ,’ उनले भने, ‘पार्कसँगै हामीले ऐतिहासिक दस्तावेज र पुरात्वात्वि महत्वका सामग्री राख्नका लागि यहाँ संग्राहलय पनि निर्माण गर्ने गरी डिजाइन तयार पारेका छौँ ।’

ऐतिहासिकता जोगाउने र खुला ठाउँको विकास समेत गर्ने तयारीका साथ महानगरपालिका अघि बढेकाले स्थानीयहरुको पनि राम्रो सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

‘आज हामीले यहाँ भव्य रुपमा स्थानीयहरुको विशाल सहभागितामा शिलान्यास गर्ने तयारी गरेका थियौँ तर विश्वव्यापि रुपमै फैलिएको कोरोनाको संन्त्रासका कारण र सरकारले हिजो मात्रै जारी गरेको सूचनालाई समेत ख्याल गरेर सामान्य रुपमा शिलान्यास गरेका हौँ,’ शाक्यले भने, ‘हामी अहिले सार्वजनिक स्थानहरुको संरक्षण गर्ने र कोरोनाको महामारीसँग जुध्नका लागि सचेतना अभियानलाई पनि सँगसँगै लैजाने तयारीका साथ अघि बढेका छौँ ।’ पार्कको सन्दरतालाई बचाई राख्न रात्रीकालिन बत्तीको समेत व्यवस्था गरिएको र शारीरिक व्यायमका लागि पनि पार्क उपयुक्त हुने शाक्यले बताए ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि अष्टमंगल र पञ्चतत्वलाई समेत ध्यानमा राखेर पार्कको डिजाइन तयार पारेको भन्दै रेनवाटर हार्वेस्टिङको समेत व्यवस्था गरेकाले पार्कमा आउने जो–सुकैलाई सहज हुने बताए । बस्नेतले डिजाइनमा अपाङ्गमैत्री सौचालयको समेत व्यवस्था गरेको भन्दै पार्क अपाङ्गमैत्री हुने पनि बताए ।

त्यसै वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले पनि भिडभाडयुक्त भित्रि सहरमा यस्तो पार्क निर्माण हुँदा स्थानीयले खुला वातावरणमा स्वच्छ हावा प्राप्त गर्न सक्ने बताए ।

सहरी योजना अयोगका सदस्य सजिव शाक्यले पहिलाको भवनको स्वरुपलाई मूर्तरुप दिनका लागि त्यहि स्थानमा पहिलो तलामा १ सय जति अटाउने हल र दोस्रो तलामा संग्राहलय निर्माण गर्ने बताए । संग्राहलयमा पुरात्वात्तिक महत्वका सामाग्रीहरु राखिने उनले बताए ।

‘कुनै समय यहाँ रणोद्धिपसिंह (स्वामी अभयानन्द) को दरबार रहेको र त्यो भन्दा पहिला शाक्यहरुको बसोवास रहेको इतिहास देखिन्छ । त्यहाँ भेटिएको विहारको अवशेषबाट पनि त्यहि प्रमाणित हुन्छ,’ उनले भने, ‘त्यसकारण हामीले डिजाइनमा त्यो कुरालाई पनि ख्याल गरेर ऐतिहासिक र पुरातात्वविक महत्वलाई पनि ध्यान दिएका छौँ ।’

उनले सो दरवार विं. सं. १८९४ पछि सिलखानाका रुपमा परिणत भएको पनि बताए । शाक्यले पार्कको समग्र डिजाइन शंख आकारमा हुने पनि बताए ।

कंडेल÷के.एण्ड केजी÷रमिता जे.भीले निर्माणको जिम्मा पाएको सो पार्क २०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्नुपर्ने छ । सो कम्पनीका अशोक भक्त श्रेष्ठका अनुसार पार्क निर्माणको कार्यादेश रकम भ्याट बाहेक ३ करोड ५७ लाख १९ हजार ६ सय १८ रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : ४३ बजे

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या