भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु « Khabarhub

भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेती थालिएको छ ।

थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती थालिएको हो ।

अरुण गाउँपालिका–४ चरम्वी र्‍याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेती थालिएको उनीहरुले बताएका छन् ।

उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए ।

तीतेपातीलाई प्रत्येक १५ देखि २० दिनमा सङ्कलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रूपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा बिक्री हुने उनको भनाइ छ ।

कृषक राईले भने, ‘हामीले गत भदौ महिनाबाट व्यावसायिक खेती शुरु गरेका छौँ, हामीले आठ हजार बिरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री हुन्छ ।’

डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बाँदरलगायत अन्य वन्यजन्तुको कारण स्थानीय बसाइँ सर्दा धेरै जमिन बाँझिदै गएकाले तीतेपाती खेतीलाई विस्तार गर्न सके स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ ।

यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर वैकल्पिक खेतीको रूपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

प्रमुख घिमिरेले भने, ‘दुई युवाले तीतेपातीको व्यावसायिक खेती थाल्नुभएको रहेछ, आज हामीले यसको अनुगमन गरेका छौँ, अब यसको उत्पादन तथा बजारीकरण हेरेपश्चात अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर विस्तार गर्ने हाम्रो योजना छ, जसले बाँझो जमिनलाई आयमूलक बनाउन सहयोग पुग्ने छ ।’

बाँदरलगायत अन्य समस्याका कारण धेरै जमिन खेर गएको अवस्थामा तीतेपाती  वैकल्पिक खेती हुनसक्नेमा स्थानीयवासी आशावादी देखिएका छन् ।

जिल्लामा पहिलोपटक खेती शुरु भएकाले आफू पनि यसको खेतीमा लाग्ने तयारीमा रहेको स्थानीय इन्द्रबहादुर कार्कीले बताए ।

कार्कीले भने, ‘तीतेपातीको खेती भइरहेको ठाउँमा गएर मैले पनि अनुगमन गरेँ, यसको लगाउने तरिका तथा अन्य प्राविधिक ज्ञानको विषयमा पनि जानकारी लिएँ, वन कार्यालयले पनि चासो लिएकाले मैले पनि खेती विस्तार गर्ने तयारी गरेको छु, वास्तवमा यसले बाँझो जमिनलाई प्रयोगमा ल्याउने देखियो, एकदम उपयोगी पनि लाग्यो ।’

धेरै मानिसहरु अन्यत्र जाँदा खेतीयोग्य जमिन बाँझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ ।

तीतेपाती खेतीलाई राम्रो ढङ्गले आयआर्जनमा जोड्न सके बाँझो जमिनसमेत प्रयोगमा आउने कार्यालयको भनाइ छ ।

नमूनाको रूपमा खेती शुरु भएकाले यसको उत्पादन तथा बजारलाई हेरेर अन्य कृषकलाई समेत प्रोत्साहन गर्ने वडाध्यक्ष प्रेमकुमार राईले बताए ।

तीतेपातीलाई बाँदरले समेत क्षति नगर्ने तथा आम्दानी लिन सकिने भएपछि वैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयवासीसँगै राज्यलाई समेत टेवा पुग्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित