दार्चुला, काभ्रे र चितवनमा सवारी दुर्घटना, सात जनाको मृत्यु « Khabarhub

दार्चुला, काभ्रे र चितवनमा सवारी दुर्घटना, सात जनाको मृत्यु


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दार्चुला, काभ्रे र चितवनमा भएका अलगअलग दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।

ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यस्तै पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो ।

राति ८ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको हो । न्यौपाने मकवानपुरको आमभञ्ज्याङका रहेको प्रहरीले जनाएको छ ।

यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका- ८ भट्टीडाँडाका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका- ६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित