भीमदत्त नगरपालिकाको बजेटमा ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम « Khabarhub

भीमदत्त नगरपालिकाको बजेटमा ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 महेन्द्रनगर– कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । भीमदत्तले मंगलबार १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोतअन्तर्गत आन्तरिक स्रोतबाट ३३ करोड, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट २३ करोड ९१ लाख र वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड ३७ लाख ६० हजार रहेको छ । 

यस्तै संघीय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँडको १७ करोड २२ लाख ६३ हजार ३१९ र प्रदेश सरकारबाट राजश्व बाँडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ । 

विशेष अनुदानतर्फ संघीय सरकारबाट ७८ लाख र प्रदेश सरकारबाट ६० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षा तर्फ ५७ करोड, क्षेत्रीय सहरी विकास आयोजनाबाट २० लाख र नगद मौज्दात २ करोड बजेटको स्रोतको रुपमा रहने नगर प्रमुख पदम बोगटीले बताए । 

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ । आर्थिक अभावका कारण कोही पनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको बोगटीको भनाइ छ । 

नगर क्षेत्रभित्र शवयात्राका लागि प्रयोग हुने शवबाहन निशुल्क उपलब्ध गराउने, विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरूको रचनात्मकता प्रस्फुटन गर्न विद्यालयमा पुस्तकविहीन शुक्रबार (बुक फ्रि फ्राईडे) कार्यक्रम सञ्चालन गरिने भएको छ । 

नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपउन्मुख जाति, द्वन्द्वपीडित, महामारी विपद् प्रभावित, हिंसामा परेका महिला बालकालिका, अपाङ्गता भएका व्यक्ति, गम्भीर दुर्घटनामा परेका व्यक्ति तथा सहाराबिहीन व्यक्ति हकमा ‘मेयर अन द स्पट’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

नीति तथा कार्यक्रममा नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम’ ल्याइएको छ । नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरूको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गर्ने, भीमदत्त नगरपालिकालाई विषादीमुक्त नगरपालिका बनाउन प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने पनि नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘विद्यार्थीसँग मेयर कार्यक्रम’, ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’ अन्तरगत नगर क्षेत्रका विद्यालयहरूबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइएको छ । 

७५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरूका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइने लगायतका विषयहरू नीति तथा कार्यक्रममा समेटिएका छन् । 

नगर सभामा नगर प्रमुख बोगटीले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सभामा नगर सदस्यहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । नगर प्रमुख बोगटीले नगर सभा सदस्यहरूले उठाएका विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने बताएका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ३४ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले