एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह « Khabarhub

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भोलि चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै भने, ‘परीक्षाको सम्पूर्ण तयारी पूरा गरेका छौँ, सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको र कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ । त्यसैले सबै परीक्षार्थीले भोलि बिहान ८ बजेदेखि आफ्नो परीक्षा केन्द्रमा पुगेर निर्धक्क भएर परीक्षा दिन सबैमा आह्वान गर्दछु ।’

बोर्डले एसईई परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा यसअघि नै पुर्‍याइसकेको छ । उनले यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने जानकारी दिए । गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै उहाँले देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गरे ।

परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसईई परीक्षा दिने र काठमाडौंको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिने भएका छन् ।

यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी ९इलेक्टिभ इङ्लिस०को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । २०८० को एसईईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १० : ११ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम