मर्दी पदयात्रामा पर्यटकको घुइँचो


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् ।

 घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् ।

मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकालेसमेत अधिकांशको रोजाइमा पर्ने गरेको छ । हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ ।

प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लाभिने गरेका छन् । कुमारी माछापुच्छ्रे हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताए। उनका अनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरुको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ ।

‘कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौँ । दसैँको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ’, तामाङले भने ।

मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट रहेका छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्नसक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ । 

दुईदिनअघि मर्दीको पदयात्रा गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताए । ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उनले सुनाए ।

बरालले भने, ‘मर्दी ट्रेकिङ नेपालीहरुको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ ।’

‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए । 

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रेको धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर (एमविसी) पुगिन्छ । ‘भ्यू प्वाइन्ट’बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक-दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताए । 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ४ : ३५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र