विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन « Khabarhub

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन


१० जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमलामाई – सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्।

कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ। विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ।

“साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्।

रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटो कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्टा)को बाटो साँघुरो र कच्ची भएकाले साइकल डोहोर्याएर हिँड्नुको विकल्प नभएको उनले बताइन्। साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा छन्। घरबाट विद्यालय पैदल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियो।

पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन्। “छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो। पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो”, सिंहले भने।

मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गरे। मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ। साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ।

मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई रु एक लाख दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन्। उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए।

उनले भने, “गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पैदल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ। आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ।”

आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताए। उनका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ। त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिने छ।

छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए। यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १० : ५५ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका