दूध उत्पादनको उर्बरभूमि सिन्धुपाल्चोक « Khabarhub

दूध उत्पादनको उर्बरभूमि सिन्धुपाल्चोक


२७ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– खेतीपातीबाट बढी उब्जाउका लागि प्राङ्गारिक मलको जोहो गर्न गाईभैँसी पाल्थे किसान । सामाजिकीकरण, आधुनिकीकरण र तीव्रतम आर्थिक गतिविधिले चालिसको दशकअघिको यो जमाना बदलिएको छ । बस्तुभाउ पालनलाई व्यावसायिक र आर्थिक गतिविधिसँग जोडेर किसानले दुग्ध उत्पादनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् ।

दुग्ध व्यवसायमा बढ्दो किसानको आकर्षणले चार दशकको अन्तरालमा सिन्धुपाल्चोकले दूध उत्पादनको उर्बरभूमि र भण्डारकैरुपमा परिचय बनाएको छ ।  जिल्ला दुग्ध उत्पादनको पकेट क्षेत्रसमेत घोषित भएको छ । विसं २०४२ पछि दुग्ध व्यवसायतर्फ लम्केका किसानले केही वर्षमै यसलाई प्रमुख व्यवसाय र पेशाकैरुपमा अँगाले । आम्दानीको ‘स्वाद’ले किसानले उन्नत जातका गाईभैँसी भित्रयाए र विस्तारै व्यावसायिक बन्दै गए । पचासको दशकमा आइपुग्दा जिल्ला दुग्ध उत्पादनको उर्वर भूमिका रुपमा चिनिन थाल्यो । 

जिल्ला दुग्ध उत्पादक संघको तथ्यांकअनुसार १३ हजार घरपरिवार  दुग्ध व्यवसायमा सक्रिय छन् । दैनिक ४० हजार लिटर दूध राजधानी पैठारी हुन्छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष इन्द्रमणि दाहालले भने , ‘किसानले एकैदिन दूध बिक्रीबाट १५ लाख रुपैयाँ नगद गाउँ लादै आएका छन् ।’

‘दुग्ध उत्पादनलाई व्यवसाय र पेशाकैरुपमा अगालेपछि किसानले आफ्नो आर्थिक हैसियत नै सुधारेका छन् । कम्तीमा उन्नत जातका एक गाई र एक भैँसी नभएको जिल्लाको ग्रामीण भेगमा घर कमै भेटिन्छन् । दूधकै आम्दानीले गाउँमा किसानको रवाफ बढेको छ । घरमै लाखौँ रुपैयाँको  चलखेल हुन्छ । उनीहरूका सन्तति राम्रा स्कुलमा राम्रै विषय लिएर अध्ययन गर्दैछन् । यो सबै दूधको आम्दानीको कारण हो’, दाहालले बताए । 

छोटो समयमा किसानले दूधबाट आर्थिक हैसियत सुधारे पनि जिल्लामा यसको इतिहास भने त्यति लामो छैन । विसं २०४२ मा दुग्ध विकास संस्थान (डिडिसी) ले पहिलो पटक चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि दुग्ध व्यवसायको सुरुआत भएको थियो । जिल्लाको पहिलो चिस्यान केन्द्र सिपाघाटमा स्थापना भएको हो । यसको तीन वर्षपछि २०४५ मा जिल्ला दुग्ध उत्पादक सहकारी संघ गठन भएपछि किसानले दुग्ध उत्पादनलाई व्यवसायकैरुपमा अँगालेको पाइन्छ । 

एक सय ४० दुग्ध सहकारी संस्थामा आबद्ध भएर १३ हजार किसानले आम्दानीको दरिलो स्रोत बनाएका छन् । यतिबेला जिल्लामा निजी र संस्थान (डिडिसी) का आठ चिस्यान केन्द्र सञ्चालनमा रहनुले पनि सिन्धुपाल्चोक दुग्ध उत्पादनको उर्वरभूमि रहेको पुष्टि हुन्छ ।

मेलम्ची, सिपाघाट र बलेफीमा डिडिसीका चिस्यान केन्द्र छन् । ती चिस्यान केन्द्रले एक सय २९ संकलन केन्द्रमार्फत दैनिक ३० हजार लिटर दूध संकलन गर्छन् । मेलम्चीले आठ हजार, सिपाघाटले १२ हजार र बलेफीले १० हजार लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । यसबाहेक सिपाघाट, साँखु र साँगाचोकमा निजी क्षेत्रले सञ्चालनमा ल्याएका तीन चिस्यान केन्द्रमा दैनिक १० हजार लिटर दूध संकलन हुन्छ । 

दुग्ध व्यवसायमा किसानको आकर्षण बढ्दो रहेका कारण जिल्ला संघले नौबिसे र अँधेरीमा थप दुई चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । बढ्दो किसान आकर्षण र दुग्ध उत्पादनको प्रचुर सम्भावना रहेकाले काठमाडौँ दुग्ध वितरण आयोजनाले सिन्धुपाल्चोकलाई दुग्ध उत्पादनको पकेट क्षेत्र घोषणा गरेको केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको लेखा समिति सदस्यसमेत रहनुभएका दाहाल बताउँछन् ।

जिल्लामा संकलित दूध (डिडिसी) मार्फत बालाजु पुगेर राजधानीमा वितरण गरिन्छ । प्रतिलिटर दूधको ५५ देखि ९९ लिने किसानले वार्षिक पाँच लाख रुपैयाँसम्म घर भित्र्याउने गरेको दुग्ध सहकारीको तथ्यांकले देखाएको छ । 

मेलम्ची, तालामाराङ, शिखरपुर, ज्यामिरे, भोटेचौर, भोटसिपा, सिपापोखरे, कुविण्डे, फुल्पिङडाँडालगायत गाविस दुग्ध उत्पादनको उर्वर भूमि मानिन्छन् । व्यवसायमा बढ्दो आकर्षणले किसानको मात्र आम्दानीको स्तरमा सुधार आएको छैन, दुग्ध सहकारी संस्थाको मुनाफा र बचत पनि बढेको छ । मुनाफाबाट किसानले लाभांश र बचतबाट सहुलियत ब्याजदरमा ऋण पाउँछन् । 

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : २३ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका