द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ « Khabarhub

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा तथा उत्पीडनका कारण हुने बलपूर्वक विस्थापनको सबैभन्दा दिगो समाधान शान्ति नै भएको बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकलाई पहिलोपटक सम्बोधन गर्दै उच्चायुक्त सालिहले द्वन्द्वका कारण घरबार छाड्न बाध्य भएका मानिसहरूको संरक्षण गर्नु, उनीहरूलाई आश्रय प्रदान गर्ने देश तथा समुदायलाई सहयोग गर्नु र विस्थापनको दीर्घकालीन समाधान खोज्नु मानवीय संस्थाहरूको निरन्तर प्राथमिकता रहेको बताए । तर उनले वास्तविक सफलता केवल मानिसहरूलाई वर्षौँसम्म द्वन्द्वको बीचमा जीवित राख्न सक्नुमा मात्र सीमित हुन नहुने उल्लेख गरेका छन् ।

‘सफलता भनेको आपत्कालका बेला स्थापना गरिएको शरणार्थी शिविर दशकौँपछि पनि कायम रहनु होइन । बालबालिकाले आफ्ना अभिभावकबाट विस्थापनको पीडा पुस्तान्तरणका रूपमा प्राप्त गर्नु पनि सफलता होइन,’ उनले भने, ‘अन्ततः सफलता भनेको मानिसहरूलाई हाम्रो सहयोग आवश्यक नपर्ने अवस्था सिर्जना गर्नु हो।’

उच्चायुक्त सालिहले ७५ वर्षअघि शरणार्थीसम्बन्धी महासन्धिले शान्ति असफल हुँदा विस्थापित मानिसहरूको संरक्षण गर्ने प्रतिबद्धता स्थापित गरेको स्मरण गराए । उनका अनुसार अब विस्थापन भइसकेपछि त्यसको समाधान खोज्नुका साथै सम्भव भएसम्म विस्थापन रोक्ने र प्रभावित मानिसहरूले सुरक्षित तथा सम्मानजनक रूपमा आफ्नो जीवन पुनर्निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्नु आवश्यक छ। ‘अन्ततः बलपूर्वक विस्थापनको सबैभन्दा दिगो समाधान शान्ति नै हो,’ उनले भने ।

शान्ति स्थापना र त्यसलाई दिगो बनाउन सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले द्वन्द्व अन्त्य गर्न राजनीतिक प्रभाव प्रयोग गर्न तथा शान्ति प्रक्रियालाई निरन्तरता दिन आग्रह गरे ।

उनका अनुसार हाल ११ करोड ७० लाखभन्दा बढी मानिस द्वन्द्व, हिंसा, उत्पीडन तथा सुरक्षामाथिका अन्य खतराका कारण आफ्नो घरबाट विस्थापित भएका छन् ।

विस्थापनको गति समाधानका प्रयासभन्दा तीव्र बन्दै गएको उल्लेख गर्दै उनले विश्वका विभिन्न क्षेत्रमा द्वन्द्वको संख्या बढिरहेको र धेरै द्वन्द्व दीर्घकालीन बन्दै गएको बताए । राजनीतिक समाधान प्राप्त गर्न कठिनाइ हुँदा अस्थायी संकटका रूपमा घर छाडेका लाखौँ मानिस वर्षौँसम्म र कतिपय अवस्थामा पुस्तौँसम्म विस्थापित जीवन बिताउन बाध्य भएको उनले उल्लेख गरेका छन् ।

उनले विस्थापनलाई केवल मानवीय समस्याका रूपमा मात्र हेर्न नहुने बताउँदै यो अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएको धारणा व्यक्त गरे ।

सालिहले मानवीय संस्थाहरूले द्वन्द्वका कारण प्रभावित मानिसहरूको संरक्षण, उनीहरूलाई आश्रय दिने देश तथा समुदायलाई सहयोग र विस्थापनको समाधान खोज्ने कार्य गरिरहेको भए पनि शान्ति स्थापना गर्ने जिम्मेवारी मानवीय संस्थाहरूको मात्र नभएको स्पष्ट पारे ।

उच्चायुक्त सालिहले सुरक्षा परिषद्लाई द्वन्द्व अन्त्य गर्न राजनीतिक प्रभावको उपयोग गर्न, शान्ति प्रक्रियालाई दिगो बनाउन, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आग्रह गरे ।

त्यसैगरी, विस्थापनको सुरुवातदेखि नै दीर्घकालीन समाधानका लागि आवश्यक सहयोग उपलब्ध गराउन, शरणार्थीलाई आश्रय प्रदान गर्ने देश तथा समुदायलाई सहयोग गर्न र सुरक्षित रूपमा आफ्नो देश फर्कन चाहने मानिसहरूका लागि अनुकूल वातावरण निर्माण गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ११ : २० बजे

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या