चाउ एन लाई र बीपी सम्झिँदै शेखरले भने- कठिन समयमा पनि नेपाल-चीन मित्रका रुपमा रहिरहे


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९५५ देखिको पञ्चशीलका पाँच सिद्धान्तहरूमा आधारित नेपाल-चीन सम्बन्धले आपसी सम्मान, सहयोग र शान्तिपूर्ण सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा कोइरालाले नेपालको दीर्घकालीन ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् ।

उनले नेपालले कहिल्यै पनि आफ्नो भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने बचन पनि दिए । सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड-१९ महामारीमा चीनले पुर्‍याएको सहयोगप्रति उनले विशेष आभार प्रकट गरे ।

कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’

बीपीको यो भावना पछि गिरिजाप्रसाद कोइरालाले पनि मजबुत बनाउँदै लगेको पनि शेखरले बताएका छन् । नेपाल र चीन सधैँ एकअर्काको साथमा रहँदै आएका उनले बताए । आवश्यकता र कठिन समयमा पनि दुवै देशबीच मित्रता रहेको उनको भनाइ थियो ।

सन् १९६० मा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले संयुक्त राष्ट्रसंघको १५ औं महासभामा बोल्दै जनवादी गणतन्त्र चीनलाई राष्ट्रसंघमा स्थान दिनुपर्ने बलियो माग राखेको उनले स्मरण गराए ।

‘हाम्रो विचारमा, जनवादी गणतन्त्र चीनलाई यसको उचित स्थान नदिई संयुक्त राष्ट्रसंघ न त विश्वव्यापी हुन सक्छ न त हालको राजनीतिक यथार्थ प्रतिबिम्बित गर्न सक्छ’, बीपीको भनाइ उद्धृत गर्दै शेखरले भने । नेपालसमेतको जोडबलमा चीनलाई सन् १९७१ मा राष्ट्रसंघमा स्थान दिइएको उनले बताए ।

नेपालले घरमा लोकतान्त्रिक बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीयतालाई प्राथमिकता दिएको कोइरालाले बताए । चीनले नेपालका सामाजिक, सांस्कृतिक, धार्मिक र भौगोलिक यथार्थलाई स्वीकार गरेकोमा उनले खुसी व्यक्त गरे ।

‘नेपालले व्यावहारिक परराष्ट्र नीति अवलम्बन गर्छ, जसले हरेक मुद्दालाई निष्पक्षरूपमा मूल्याङ्कन गर्छ । नेपाली जनताको हितमा निर्णय लिन्छ’, उनले भने ।

नेपालको वैदेशिक नीतिको प्राथमिकता छिमेकी राष्ट्रहरूबाट सुरू हुने उनले बताए । ‘नेपाल-चीनबीच विभिन्नस्तरमा भइरहने नियमित भ्रमणहरूले परम्परागत सम्बन्धलाई सुदृढ बनाएका छन्’, उनले भने, ‘यसले आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्धलाई बलियो बनाएको छ ।’

कार्यक्रमका अन्य वक्ताले नेपालले अवलम्बन गरेको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनर्पुष्टि गरेको बताउँदै दुई देशबीचको जनस्तरको सम्बन्धको सुदृढीकरणमा जोड दिए ।

कार्यक्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध झल्काउने दुर्लभ तस्वीरहरूको प्रदर्शनी पनि गरिएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र