‘परान’ पनि आँसुको व्यापारतिरै : पछ्याइ पछ्याइ दर्शक रोएको भिडियो खिचेर फेसबुकमा ‘बुस्ट’


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हल भिजिटका नाममा युट्युब मिडियाहरूले दर्शकको गोपनीयता भंग गरेको बहस चलिरहेकै बेला फिल्म ‘परान’ टिमले यही कुरालाई बढवा दिएको पाइएको छ ।

हलमा फिल्म हेरेर दर्शक रोएको भिडियो ‘परान’ टिमले प्राथमिकताका साथ फेसबुक पेजबाट सार्वजनिक गरिरहेको छ ।

फिल्मको पेजमा राखिएको हल भिजिटका क्रममा दर्शक रोएको १३ वटा भिडियो निर्माण टिमले फेसबुकलाई पैसा तिरेरै बुस्ट गरिएको भेटिन्छ ।

फेसबुकलाई डलर तिरेपछि कुनै पनि सामाग्री पैसाअनुसार निश्चित संख्याका दर्शक समक्ष पुर्‍याउन सक्ने सुविधा छ । ‘परान’ टिमले पनि त्यही गरेको हो ।

यसरी बुस्ट गरिएको एक भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उक्त भिडियोमा निलो ज्याकेट लगाएका पुरुष फिल्म हेरेपछि भक्कानिएका छन् ।

रोएको भिडियो खिच्न उनलाई क्यामेरा मेनले निकै पछ्याएका छन् । उनी क्यामेराबाट टाढा जान खोजेका छन् । क्यामेराले उनलाई पछ्याउन छाड्दैन । उनी भावुक बन्दा बोल्न सक्ने अवस्थामै छैन । तर, बराम्बार उनलाई प्रश्न सोधिएको छ ।

पहिला एक युवतीले सोध्छिन्, ‘कस्तो लाग्यो फिल्म ?’ ती व्यक्ति भावुक बनेकाले तत्काले बोल्न सक्दैनन् । एकछिनपछि आँसु पुछ्दै रुञ्चे स्वरमा भन्छन्, ‘राम्रो ।’

फेरि ती युवतीले सोध्छिन्, ‘कस्तो लाग्यो फिल्म ?’ ती व्यक्तिले ‘फिल्मले रुवायो’ भन्ने प्रतिक्रिया दिन्छन् ।

ती व्यक्ति आफूलाई सम्हाल्न प्रयासरत हुन्छन ।

त्यही बेला फिल्मका निर्देशक निर्देशक दीपक आचार्य आउँछन् र अंकमाल गर्दै भन्छन्, ‘सरी है मैले रुवाएँ ।’

फेरि ती व्यक्तिलाई आचार्यले भन्छन्, ‘यो फिल्म चाहिँ मेरो हो है ।’

सुरुमा हँसिलो देखिएका दीपक भिडियोमा भने भावुक भएर मुख बिगारेको जस्तो देखिन्छ ।

अर्थात्, ती व्यक्तिको आँसुलाई ‘परान’ टिमले प्रचारमा प्रयोग गरेको हो ।

फिल्म प्रचारको ध्येयले रुँदै गरेका व्यक्तिलाई जबरजस्ती प्रश्न सोध्दा मानवीय सम्वेदनासमेत नदेखाएको प्रतिक्रिया त्यही भिडियोमा आएको छ ।

फिल्मलाई लिएर पनि मिश्रित प्रतिक्रिया आएको छ । केहीले फिल्म ‘राम्रो बनेको’ र केहीले ‘नराम्रो लागेको’ प्रतिक्रिया दिएका छन् ।

यो भिडियोलाई लिएर आपत्ति जनाउने पनि कमेन्ट बक्स भेटिएका छन् ।

बसुरिुद्दिन मियानले कमेन्ट गरेका छन्, ‘रोएको भिडियोलाई पनि पैसा तिरेर बुस्ट गर्नुपरेको किन होला ?’

त्यस्तै उत्तम खनालले लेखेका छन्, ‘आँसु होइन फिल्म बेच्नुस् ।’

यसरी दर्शक रोएको भिडियो राखेर फिल्मको प्रचार गर्ने प्रवृति नेपाली फिल्म क्षेत्रमा नौलो होइन । यो प्रवृतिले दर्शकको गोपनीयता र दर्शकप्रतिको विश्वसनीयतामा प्रश्न उठ्दै आएको छ ।

यो कुरा ‘परान’का निर्देशक आचार्यलाई पनि थाहा छ । उनलै फिल्मको प्रिमियरमा भनेका थिए, ‘रुँदा अहिले गलत सन्देश जान्छ । आमा आएकाले आँसु रोक्न सकिनँ ।’

तर, उनै दीपक दर्शकलाई फिल्म बेच्न आँसुको प्रयोगमा तल्लीन भएका हुन् । अझ उनी त आफ्नो प्रचारमा पनि भेटिए । नत्र ती रोइरहेका व्यक्तिलाई किन भन्थे, ‘यो फिल्म मेरो हो है ।’

निर्माताका रुपमा शेखर गोल्छा जस्ता व्यापारी जोडिएका फिल्म प्रचारका लागि पनि पुरानै र विवादित शैली प्रयोग गर्नु सुखद पक्ष होइन ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ४१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र