पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वीरुकुम दुवैतर्फबाट सहजरूपमा आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो ।

रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न सकिन्छ भने आधा घण्टामा तिलाचन ताल पुग्न सकिन्छ ।

रिगतालसम्म मोटर बाटो पुगेको हुँदा आगन्तुक गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले बताए । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा यी ठाउँको प्रचार–प्रसार तीव्र रूपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको बताए । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेबाट रिगतालसम्म सडक पुर्‍याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधार बन्न नसकेको अध्यक्ष बुढामगरको भनाइ छ ।

‘पहिले त यहाँका चर्चा खासै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्र भयो त्यसयता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने छ’, अध्यक्ष बुढामगरले भने, ‘अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिएको छ ।’

स्थानीय वीरबहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताए । उनले हिउँसँग रमाउन र गर्मी छल्न आउनेको सङ्ख्या धेरै हुने गरेको बताए । विकले यहाँ घुम्न आउनेले स्थानीय उत्पादन आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामान किनेर लैजाने गरेको सुनाए ।

‘यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई–चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दाखेरी लोकल कुखुरा, आलु किनेर यही नै पकाएर खान्छन्’, उनले भने, ‘स्थानीयलाई पनि पैसा हुने भयो, दुई वर्ष जति भयो धेरै मान्छेहरू आउन थालेको ।’

यो याममा त अझ वरपर फुलेका लालीगुराँसले धेरैको मन लोभ्याउने गरेको छ । पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिगताल र तिलाचन तालमा पुग्छन् । सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन ।

पूर्वीरुकुमबाट घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताए । लोकमार्गमा यात्रा गर्दा पूर्वीरुकुमबाट लुकुमगाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृश्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइराख्ने बताए ।

‘पाँच–छ वर्ष अगाडि यहाँ एक पटक आएको थिएँ, यस्तो चहलपहल थिएन, यहाँ घर पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ,’ खड्काले भने, ‘मुख्य कुरा त विकास नै रहेछ, यो सडक नबनेको भए यो ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो ।’

यो स्थानमा बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट एक घण्टामै पुग्न सकिन्छ । बिदाको दिन करिब तीन सय पर्यटक यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : २६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र